रुकुम पश्चिममा मृतकका परिवारलाई शुक्रबारदेखि बाँडिँदै नगद राहत

सरकारले भूकम्पमा परी मृत्यु भएका मृतकका परिवारका लागि घोषणा गरिएको दुई लाख रुपैयाँ वितरण गर्न लागिएको हो।

रुकुम पश्चिम– रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका मृतकका परिवारलाई शुक्रबारदेखि राहत रकम वितरण गरिँदै छ।

सरकारले भूकम्पमा परी मृत्यु भएका मृतकका परिवारका लागि घोषणा गरिएको दुई लाख रुपैयाँ वितरण गर्न लागिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार सानीभेरी गाउँपालिकाबाट राहत रकम वितरण थालिनेछ।

सानीभेरीमा भूकम्पमा परी १० जनाले ज्यान गुमाएका थिए। आठबीसकोट नगरपालिकामा भने शनिबार वितरण गरिनेछ। आठबीसकोटमा भूकम्पका कारण ४२ जनाको मृत्यु भएको थियो। मृतकका नजिकका कानूनी हकवालालाई राहत रकम वितरण गरिने बडुवालले बताए। 

जाजरकोटमा भने नगद राहत वितरणमा समय लाग्ने भएको छ। अहिले राहत वितरणमै ध्यान केन्द्रित भएकाले नगद राहत वितरणमा समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताए। 

मृतकका कानूनी हकवालाको पहिचान, मृत्यु दर्ता, प्रहरी मुचुल्कालगायत प्रक्रिया पूरा गर्न बाँकी नै रहेकाले नगद राहतका लागि पीडितले अझै केही समय कुर्नुपर्ने उनको भनाइ छ।