नेपाली बाटो भएर कैलाश मानसरोवर जाने दर्शनार्थी बढे

तिब्बत क्षेत्रमा रहेको कैलाश मानसरोवर हिन्दू धर्मावलम्बीको पवित्रस्थल हो। पछिल्लो समय नेपालबाट मानसरोवर जाने दर्शनार्थीको संख्या बढेपछि यस क्षेत्रको आर्थिक गतिविधि समेत बढेको छ।

हुम्ला- नेपाली भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्न आउने बढेका छन्।



छिमेकी देश चीनले कोरोना संक्रमणको कारण देखाउँदै उत्तरी क्षेत्र हिल्साको सीमानाका बन्द गरेकाले कैलाश मानसरोवरको दर्शन गर्न आउने विदेशी दर्शनार्थीले केही वर्षयता कैलाश मानसरोवरको नेपाली भूमि लाप्चाबाट दर्शन गर्दै आएका छन्।



यस वर्ष भारतीय सन्त सद्गुरु (जग्गी वासुदेव)सहित एक हजार ११ जना विदेशी धार्मिक पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेका छन्। सद्गुरुको समूहमा एक हजार २११ जना विभिन्न देशका दर्शनार्थीले हुम्लाको लाप्चाबाट मानसरोवर दर्शन गरेर फर्किएका छन्। यसमा महिला ६४१ जना र पुरुष ५७० जना कैलाश मानसरोवरको दर्शनका लागि आएका सिमकोट विमानस्थल स्रोतले जनाएको छ। यस्तै भारतबाहेक बेल्जियम, अमेरिका, जर्मनलगायत १९ देशका १७ नागरिकले पनि लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गरेका छन्।



चीनको तिब्बत क्षेत्रमा अवस्थित कैलाश मानसरोवर हिन्दू धर्मावलम्बीको पवित्रस्थल हो। मानसरोवर कैलाश पुग्न कठिन भएकाले पछिल्लो समय हुम्लाको लाप्चाबाट दर्शन गर्ने पर्यटकको सङ्ख्या बढेको छ। यस वर्ष मानसरोवर दर्शनका लागि आएका दर्शनार्थी लाप्चाबाट दर्शन गरेर फर्किएका होटेल व्यवसायी विजय लामाले बताए। 



“यस वर्ष मौसम राम्रो भएका कारण एकरदुई समूहबाहेक अन्य सबै पर्यटक कैलाश दर्शन गर्न सफल भए”, व्यवसायी लामाले भने, “एक जना पर्यटकलाई भने श्वासप्रश्वासमा समस्या आएपछि ताक्चीबाटै फिर्ता हुनुपरेको थियो।”



३०० आन्तरिक पर्यटक  

मानसरोवर कैलाशको दर्शन गर्न आउने आन्तरिक पर्यटक भने लाप्चा पुगेर दर्शन गर्ने क्रम अझै चलिरहेको छ। ३०० भन्दा बढी आन्तरिक पर्यटकले लाप्चाबाट दर्शन गरेको नाम्खा गाउँपालिका–६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए। 



उनले सद्गुरुले दुई वर्ष लगातार लाप्चाबाट दर्शन गरेपछि यसको महत्त्व बढेको बताए। यो वर्ष विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले पनि मानसरोवर कैलाशको दर्शन गर्न पुगेका छन्। सदरमुकामबाट सार्वजनिक सवारीमा एक दिन लाग्ने भएका कारण आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो। 



ताक्चीबाट फर्किए व्यवसायी

हुम्लाको ताक्चीमा पर्यटकका लागि बास व्यवस्थापन गर्दै आएका पर्यटन व्यवसायी फिर्ता भएका छन्। यसपटक धार्मिक पर्यटकको ठूलो समूहले दर्शन गरेर फर्किएपछि व्यवस्थापनमा खटिएका पर्यटन व्यवसायी पनि फर्किएका हुन्। ताक्चीमा पर्यटकको व्यवस्थापनका लागि खटिएका पर्यटन व्यवसायी सदरमुकाम सिमकोट फर्किएको वडाध्यक्ष तामाङले बताए। 



ताक्चीमा करिब एकसय पर्यटन व्यवसायी अस्थायी रूपमा व्यवसाय गरी बसेका थिए। ती व्यवसायी एक महिनाअघिदेखि ताक्चीमा बसेका थिए। लाप्चाबाट कैलाश मानसरोवर दर्शन गर्ने पर्यटकका लागि सुरुमा सिमकोट, लेकधिङ्गा र ताक्चीमा बासको व्यवस्था गरिएको भए पनि लेकधिङ्गामा व्यवस्थापन गर्न कठिन भएपछि सिमकोटस्थित रानीवनमा व्यवस्था गरिएको थियो। 



कैलाश मानसरोवरको दर्शनका लागि आउने पर्यटकका कारण यस क्षेत्रको आर्थिक गतिविधि बढेको स्थानीय पर्यटन व्यवसायीले बताएका छन्। यसबाट सवारीसाधन सञ्चालक र होटेल व्यवसायी प्रत्यक्ष लाभान्वित भएका छन्।