वर्षाले थप समस्यामा भूकम्पपीडित

यसै पनि खाद्यान्न, त्रिपाललगायतका अत्यावश्यक राहत सामग्री नपाएर समस्यामा परेका बारेकोटका भूकम्पपीडित वर्षाका कारण थप समस्यामा परेका छन्।

बारेकोट (जाजरकोट)– जाजरकोट भूकम्पको केन्द्र बारेकोटमा शुक्रबार वर्षा हुँदा भूकम्प प्रभावितहरू समस्यामा परेका छन्। भूकम्पको धक्काले घरबास भग्नावशेष बनी आवासविहीन भएर त्रिपाल, खाद्यान्न लगायतका अत्यावश्यक राहतको पर्खाइमा रहेका बारेकोटका भूकम्पपीडित वर्षाका कारण थप समस्यामा परेका हुन्।

बारेकोट गाउँपालिका वडा नम्बर ४ वरपरका क्षेत्रमा वर्षा भइरहेको हो। जसोतसो त्रिपालमुनि बास बसेका भूकम्पपीडित वर्षा भएपछि थप समस्यामा परेको बारेकोट गाउँपालिका– ४ का वडा अध्यक्ष विष्णु रावतले बताए। उनका अनुसार भूकम्पपीडितलाई त्रिपाल, म्याटलगायतका सामग्री आवश्यकताअनुसार पुगेको छैन।

“वडामा राहत, उद्धारको काम सकिएको छैन। घर भत्किएका छन्। पानी पर्दा पनि बाहिर भिजेर बसेका छन्। जनजीवन कष्टकर बनेको छ,” उनले भने। चिसोमा कठ्याङ्ग्रिएर बस्न बाध्य भूकम्पपीडितलाई पानीले रुझाएपछि स्वास्थ्यमा प्रतिकूल असल पर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे।

त्यस्तै, शुक्रबार दिउँसो राहतको विषयलाई लिएर वडा अध्यक्ष रावत र गाउँपालिकाका प्रतिनिधिबीच विवाद भएको थियो। उनले आफ्नो वडाका भूकम्प प्रभावितलाई तत्काल राहत चाहियो भनेर ट्याक्टरमा सामग्री लोड गरेपछि गाउँपालिकाका प्रतिनिधि र उनीबीच भनाभन भएको थियो। उनले अन्य वडामा पठाउने वडा नम्बर ४ मा किन नपठाउने भन्दै गाउँपालिका प्रतिनिधिलाई प्रश्न गरेका थिए।

“आवश्यक सामग्री गाउँपालिकाले पठाएको छैन, अन्य वडामा पठाउने, हामीलाई नपठाउने? हामीलाई पनि तत्काल चाहिन्छ,” उनले भने। सानो पालमा धेरै भूकम्पपीडित बसिरकाले वर्षा हुँदा उनीहरूलाई ओत लाग्न पनि समस्या भएको थियो।

गाउँपालिकाको केन्द्र लिम्सामा रहेको गोदामबाट उनले सामान ट्याक्टरमा राखी सकेपछि गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरि र अन्य प्रतिनिधिहरूले ती सामग्री अर्कै वडामा पठाउन भर्पाई गरिएका थिए। ती हेल्थ टाक्स नेपालको सहयोगमा प्राप्त ब्लांकेट, त्रिपाल, म्याट, सरसफाइका सामग्री, बालबालिकाका लागि न्यानो कपडा थिए। गाउँपालिका अध्यक्षलगायतले सामग्री लान रोकेपछि विवाद भएको हो।

७५० घरधुरी रहेको वडा नम्बर ४ का सबै नागरिक प्रभावित छन्। अहिलेसम्म यो वडामा चार सय पाल, तीन सय कमलबाहेक अन्य राहतका सामग्री नगएको वडा अध्यक्ष रावतको भनाइ छ।