गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदै गएको प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गरेको स्मरण गर्दै सरकारले रोल्पालाई विशेष महत्त्व दिएको जिकिर गरे। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गणतन्त्रपछिका १५ वर्षमा रोल्पा मुहार परिवर्तन हुँदै गएको बताएका छन्। प्रधानमन्त्री दाहालले शुक्रबार दिउँसो शहीद स्मृति राजमार्गको थवाङ खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन गर्दै यस्तो बताएका हुन्।

उनले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गरेको स्मरण गर्दै सरकारले रोल्पालाई विशेष महत्त्व दिएको जिकिर गरे। “गणतन्त्रपछिका १५ वर्षमा रोल्पा जिल्लालाई केन्द्र सरकारले उच्च महत्त्व दिएको छ। विकासका कामहरू अगाडि बढेका छन्। जिल्लाको मुहार फेरिँदै छ,” उनले भने।

स्थानीयले सडक निर्माण तथा कृषिलगायतका विषयमा प्रधानमन्त्री दाहाललाई सहयोग गर्न आग्रह गरेका थिए। उनले स्थानीयले राखेका विषयप्रति गम्भीर रहेको प्रतिक्रिया दिएका थिए। “तपाईंहरूले शहीद स्मृति सडक निर्माण, कृषिका लागि सहयोग, उत्पादनमूलक नमूना कृषि प्रोजेक्टलगायत जुन विषय उठाउनुभएको छ, ती महत्त्वपूर्ण छन्। त्यसलाई मैले गम्भीरतापूर्वक लिएको छु, पूरा गर्छु,” उनले भने।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य वर्षमान पुनलगायतले सम्बोधन गरेका थिए।