महँगीले सीमा नाघ्यो, रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति बढ्यो

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ।

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार गत असोज मसान्तसम्ममा मुद्रास्फीति (महँगी)ले वाञ्छित सीमा नाघेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको देखिएको छ। त्यस्तै, शोधनान्तर स्थिति पनि बचतमा देखिएको छ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.५० प्रतिशत छ। चालु आर्थिक वर्षका लागि सरकारले मुद्रास्फीति साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ। तर सरकारले राखेको मूल्यवृद्धिको अधिकतम सीमाको लक्ष्यभन्दा वास्तविक मूल्यवृद्धि एक प्रतिशत बिन्दुले बढी देखिएको हो।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ। तर, घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.६१ प्रतिशतले घटेको छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १२.११ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ८.०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.२५ प्रतिशतले बढेको छ।

त्यस्तै, यातायात क्षेत्रमा १.६२ प्रतिशतको मूल्यवृद्धि देखिएको छ। गत असोज महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १०.२३, तराईको ५.६६, पहाडको ७.३८ प्रतिशत र हिमालको १०.२४ प्रतिशत रहेको छ।

त्यस्तै, यो अवधिमा विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भई तीन खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो। गत असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास अवधिमा सरकारको चालु खाता ५९ अर्ब ९ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब २४ करोड रुपैयाँले घाटामा रहेको थियो। त्यस्तै, वैदेशिक लगानी ३ अर्ब ३७ करोड रुपैयाँले धनात्मक रहेको छ।

असोज मसान्तसम्मको शोधनान्तर स्थिति ९९ अर्ब ७ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा थियो‍।

गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले वृद्धि भई गत असोज मसान्तसम्ममा १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैकिंग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

पहिलो त्रैमासिक अवधिमा आयात १.७ प्रतिशतले बढेको छ भने निर्यात २.३ प्रतिशतले घटेको छ। कुल वस्तु व्यापार घाटा २.१ प्रतिशतले बढेकोछ।