श्रमिक अलपत्र पार्ने म्यानपावर निलम्बित, साउदीअरबको कम्पनी कालोसूचीमा

नेपालबाट रोजगारीको लागि साउदीअरब पठाएर दुई महिनासम्म काममा नलगाएको र श्रमिकका समस्या समाधान नगरेको भन्दै विभागले काठमाडौँको गौशालास्थित दैलेख ओभरसिज लिमिटेडलाई निलम्बन गरेको हो।

काठमाडौँ– श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएर अलपत्र पार्ने एक म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले निलम्बन गरेको छ।

नेपालबाट रोजगारीको लागि साउदीअरब पठाएर दुई महिनासम्म काममा नलगाएको र श्रमिकका समस्या समाधान नगरेको भन्दै विभागले काठमाडौँको गौशालास्थित दैलेख ओभरसिज लिमिटेडलाई निलम्बन गरेको हो। विभागबाट इजाजतप्राप्त उक्त म्यानपार कम्पनीले दुई महिना पहिले रोजगारीको लागि साउदी पठाएका श्रमिक त्यहाँ अलपत्र परेपछि पीडितले उद्धार गरीपाउँ भन्दै विभागमा उजुरी दिएका थिए। त्यसपछि विभागको टोली र साउदीस्थित नेपाली दूतावासका प्रतिनिधिले स्थलगत अनुगमन गरेको थियो।

अनुगमनका क्रममा कामदारहरूलाई काम नदिइ एउटै कोठामा २०/२५ जनालाई राखेको, खाना बस्न तथा तलब सुविधा नदिएको, केही बिरामी भएकोसमेत देखिएको विभागका निर्देशक लोकनाथ भुसालले बताए। 

विभागले दैलेख ओभरसिज म्यानपावरलाई तुरुन्तै पीडित श्रमिकका समस्या समाधान गर्न निर्देशन दिएको छ। श्रमिकका समस्या समाधान नभएसम्मका लागि वैदेशिक रोजगार ऐन, २०६३ को दफा ६१ को उपदफा ६ र ७ बमोजिम कम्पनीलाई निलम्बन गरिएको भुसालले बताए। 

यस्तै, नेपालबाट श्रमिक मगाएर लामो समयसम्म काममा नलगाएको, उचित व्यवस्थापन, तलब, सेवा सुविधा नदिएको भन्दै साउदीको कम्पनी अब्दुल्लाह बिन इसा बिन हमादलाई पनि अर्को व्यवस्था नभएसम्मका लागि कालोसूचीमा राखिएको विभागले जनाएको छ।