नगरप्रमुख रीनाकुमारी साहलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्चले रौतहटको मौलापुरका नगरप्रमुख रीनाकुमारी साहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

काठमाडौँ– रौतहटको मौलापुरका नगरप्रमुखमा रीनाकुमारी साह पुनर्बहाली भएकी छन्।

पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै साहको नगरप्रमुख पद तत्कालका लागि कायमै रहने भएको हो।

शुक्रबार सर्वोच्च अदातलका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अन्तरिम आदेशसँग विपक्षीका नाममा कारण देखाऊ आदेश दिएको छ।

पूर्वमाओवादी नेता प्रभु साहपत्नी साह गत वर्ष पुसमा गठन भएको आम जनता पार्टी, नेपालमा प्रवेश गरेकी थिइन्। नगरप्रमुख साह अर्को पार्टीमा प्रवेश गरेको भन्दै एमालेले कारबाही गरी आयोगलाई जानकारी दिएको थियो।

एमालेले दिएको जानकारीका आधारमा आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम साह निर्वाचित भएको पद स्वतः रिक्त हुने निर्णय गरेको थियो। आयोगले असोज ३० गते सूचना जारी गर्दै उनको पद रिक्त भएको जनाएको थियो।

आयोगको निर्णयविरुद्ध साहले सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन्। उनी २०७४ सालको निर्वाचनमा पनि नगर प्रमुखमा निर्वाचित भएकी थिइन्।