सांसदहरूले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधान गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउने विषयमा सरकार गम्भीर नभएको बताएका छन्।
काठमाडौँ– सांसदहरूले संकटतर्फ उन्मुख अर्थतन्त्रप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्ने अधिकांश सांसदले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधान गरी चलायमान बनाउने विषयमा सरकार गम्भीर नभएको बताएका हुन्।
अर्थतन्त्र गम्भीर मोडमा पुग्दासमेत अर्थमन्त्रीसहित अन्य मन्त्रीहरू विदेश भ्रमणमा व्यस्त रहेको उनीहरूको टिप्पणी थियो। सांसदले धेरै सूचकहरू सकारात्मकदेखि पनि अर्थतन्त्र संकटमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीबीचमा पनि अर्थतन्त्रका विषयमा मतभिन्नता देखिएको तर्क गरे। सरकारले निर्माण व्यवसायीहरूलाई गर्नुपर्ने भुक्तानीसमेत दिन नसक्नुलाई अर्थतन्त्र मन्दीमा गएको संकेतका रूपमा बुझ्नुपर्ने उनीहरूको भनाइ छ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रीले अर्थतन्त्रमा सुधार हुँदै आएको र जथाभाबी बोल्दा मनोबल कमजोर हुन्छ भनिए पनि अहिले मन्तव्यभन्दा अर्थतन्त्र सुधार गर्नु आवश्यक रहेको बताए। सकारात्मक कुरा गर्दैमा तथ्य नलुक्ने भनाइ राखेका उनले अर्थतन्त्रका विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीबाटै फरक–फरक अभिव्यक्ति आउने गरेका टिप्पणी गरे।
प्रधानमन्त्री समस्याग्रस्त अर्थतन्त्र सुधार्न तिहारपछि गोलमेच सम्मेलन गर्छु भन्नु र अर्थमन्त्री लगानी सम्मेलन गर्छु भन्नुले प्रधानमन्त्री–अर्थमन्त्रीबीच भेट नभएको जस्तो देखिएको उनको भनाइ थियो।
उनले विद्युतीय सवारीसाधनका कारण राजस्व घट्यो भनेर सरकारले पार नपाउने भन्दै आगामी दिनमा विद्युतीय गाडीको आयात बढाउने नीति लिन सुझाव दिए।
बैठकमा कांग्रेस सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीले सबै विषय सकारात्मक हुँदा पनि अर्थतन्त्र संकटमा परेको उल्लेख गर्दै यो समस्याको जवाफ दिन नसके आर्थिक क्षेत्रले गति लिन नसक्ने औँल्याए। भनिएअनुसार मुलुक आत्मनिर्भर अर्थतन्त्रमा जान नसकेको बताउँदै पूर्वअर्थमन्त्री कार्कीले देश विकासमा सबैको ध्यान जानुपर्ने कुरामा मतभिन्नता नरहेको बताए।
उनले अहिले ऋण बढ्दै गएको तर त्यसले उत्पादन दिन्छ कि दिँदैन भन्नेमा ध्यान नदिइएको उल्लेख गरे। उनले साना तथा मझौला उद्योगमा विश्वासको अभाव रहेको औँल्याउँदै नेपाल आउने पर्यटकबाट उठ्ने पैसाभन्दा नेपाली विद्यार्थी विदेश पढ्न जाँदा लाग्ने खर्च बढेकोप्रति सचेत गराए।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले सरकारले ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिएर अर्थनीति सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। उनले बजेट कार्यान्वयन गर्ने विषयमा अर्थमन्त्रीसँग अति बढी अपेक्षा भए पनि विगतका मन्त्रीको जस्तै अवस्था देखिएको बताए।
उनले अर्थतन्त्रबारे जानेको अर्थमन्त्रीले ल्याएको बजेटमा दिएको केही उधारो समर्थन फिर्ता गर्नुपर्ने अवस्था देखिएका बताउँदै भूकम्पले पारेको क्षतिलाई हलुका रूपमा हेर्नु नहुने बताए। उनले नियमनकारी निकाय बीमा प्राधिकरण र धितोपत्र बोर्डले डरलाग्दो सेटिङमा देश गाँजिएको खबर बाहिर आएको पनि सुनाए।
सांसदहरूले अहिले जिल्ला–जिल्लाका निर्माण व्यवसायीहरूको बाँकी भुक्तानी चुक्ता गर्न सुझाव दिएका छन्। उनीहरूले आयोजना सकिए पनि पैसा नपाउँदा निर्माण व्यवसायीदेखि श्रमिकसम्म समस्यामा परेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
