मुगु घटना: सुन लुट्ने मनसायले सामूहिक हत्या, पक्राउ परेका २ आरोपी सार्वजनिक

प्रमुख हत्या आरोपी दुई जना सार्वजनिक गरे पनि मुगु सामूहिक हत्याको थप अनुसन्धान जारी रहने कर्णाली प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए।

मुगु– मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ। हत्या भएको १० दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुगु सामूहिक हत्याको अनुसन्धानको जिम्मा लिएको थियो।

टोलीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको थियो। दुवैलाई शुक्रबार प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ। हत्या आरोपमा पक्राउ परेका छायानाथ रारा नगरपालिका–७ पिना गाउँ घर भई हाल बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपालबहादुर बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो।

हत्यापछि भागेका गोर्खराजलाई सीआईबीको टोलीले यही कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ पञ्चकोशी टोलबाट पक्राउ गरेको थियो। उनी समातिएपछि हत्यामा गोपालको पनि संलग्नता खुलेको प्रहरीको दाबी छ।

गोपाललाई गोर्खबहादुर पक्राउ परेको भोलिपल्ट कात्तिक २१ गते मुगुको गमगढी वडा नं २ बाट प्रहरीले पक्राउ गरेको थियो। यही कात्तिक ८ गते राति मुन्दुका २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, सात वर्षकी छोरी अप्सरा बोहोरा र पाँच महिनाका छोरा रहर बोहोराको घरभित्रै हत्या भएको थियो। 

हत्या आरोपित गोर्खबहादुर श्रीदेवीका काका र गोपाल भाइ नाता पर्छन्। श्रीदेवी गोर्खराजको दिदी–सासूकी छोरी हुन् भने गोपाल मामाका छोरा भएको पत्रकार सम्मेलनमा बताइएको छ। घरमा दशैँ मनाएर ७ गते टीका थाप्न माइत गाउँ कोटिल्ला गएकी श्रीदेवी छोराछोरीसहित ८ गते बेलुका घर फर्किएकै दिन राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको थियो।

हत्याका आरोपी गोपालले कतारमा वैदेशिक रोजगारीमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरालाई भिसा लगाइदिन दुई वर्षअघि आग्रह गरेका थिए। दीपकले भिसा मिलाउन नसकिने जवाफ दिएका थिए। त्यही भिसा नमिलाई दिएको कारण रिस साँधेको प्रहरीले बताएको छ। उनीहरूले शुरूमा लुटपाटको योजना बनाएको र पछि परिवार नै सखाप पारेर हत्या गरेको प्रहरीको प्रारम्भिक सोधपुछबाट खुलेको छ।

जेठमा बाँकेको कोहलपुरबाट गोर्खराज मन्दु पुगेर गोपाललाई भेटेको, त्यही भेटमा उनीहरूले श्रीदेवीसँग रहेको १०/१२ तोला सुन लुटपाट गर्ने योजना बनाई सोही योजनाअनुसार कात्तिक ५ गते गोर्खबहादुर सुर्खेतबाट मुगु आई गोपालको घरमा बसेको, ७ गते र ८ गते राति गोपालको पुरानो गोठमा लुकी बसेको, गोपालले लुकाएर खाना खुवाएको र कात्तिक ८ गते श्रीदेवी बोहोरा दुई छोरा र एक छोरीसहित माइतीघरबाट फर्किएपछि त्यही बेलुकी गोर्खबहादुर र गोपालले उनीहरूको हत्या गरेको बयानको क्रममा बताएको कर्णाली प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पत्रकार सम्मेलनमा बताए।

हत्यापछि उनीहरूले मृतकले कानमा लगाएका साढे दुई तोलाका सुनका रिङ, २५ लालको तिलहरि लुटी लिएर फरार भएका थिए। प्रहरीका अनुसार घटनापछि उनीहरू शव घरभित्रै छाडेर बाहिरबाट ढोकामा ताला लगाई हिँडेका थिए। त्यसपछि गोपाल पनि गाउँमै बसेको र गोर्खबहादुर भने सुर्खेततर्फ फरार भएका थिए।

प्रहरीका अनुसार अनुसन्धान टोलीले बाँके नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित कारकादोस्थित गजेन्द्रविक्रम शाहीको घरमा गोर्खराजले लुकाइछिपाइ राखेको नगद एक लाख ७९ हजार रुपैयाँ, उनको नामको राहदानी र मुगुबाट गएको बसको टिकट फेला पारेको थियो।

घटनाको अनुसन्धानका लागि शुरूदेखि जिल्ला प्रहरी कार्यालय मुगु प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको टोली र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको दुई वटा अनुसन्धान टोलीले घटनास्थलमै खटिएर अनुसन्धान गरेको थियो। सीआईबीका प्रहरी नायब उपरीक्षक  धर्मराज भण्डारीको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले अनुसन्धान गरेको थियो। अनुसन्धानबाट आएको नतिजालाई केलाएर प्रहरीले मुगु सामूहिक हत्याका आरोपी पक्राउ गर्न सफल भएको हो। अनुसन्धानका क्रममा सीआईबीको टोली सुर्खेत, बाँके र मुगुसम्म पुगेको थियो।

अनुसन्धानमा चार टोलीका १४ सदस्य खटिएका थिए। प्रत्येक टोलीलाई छुट्टाछुट्टै क्षेत्र बनाएर अनुसन्धान गरिएको थियो। प्रमुख हत्या आरोपी दुई जना सार्वजनिक गरे पनि सामूहिक हत्याको थप अनुसन्धान जारी रहने प्रहरी नायब महानिरीक्षक ढकालले बताए।