सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– देशको पश्चिमी भूभागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 

जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी स्थानको मौसम भने सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। 

सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना छ।

देशभरको तापक्रम क्रमशः घटेर चिसो बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।