कात्तिक कृष्ण त्रयोदशी परेकाले शनिबार बेलुकादेखि नै यमदीपदान गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
काठमाडौँ– प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने यमपञ्चक अर्थात् तिहार शनिबार शुरू हुँदैछ।
कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले बेलुकी यमदीपदान गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। यमपञ्चकको पहिलो दिन काग तिहार परेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए। बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरू हुन्छ।
कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ। यसैले शनिबारदेखि नै यमपञ्चक शरू हुने समितिले जनाएको हो। “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरू गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो,” उनले भने।
यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। धनत्रयोदशी (धनतेरस) पर्व भने शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ। तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ।
यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ। आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार मनाइन्छ। बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए। आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ। यसलाई नरक स्नान भनिन्छ। यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ।
गाईपूजा सोमबार परेको छ। गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मंगलबार परेको छ। बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ। यस दिन बिहान १०:५१ मा भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले जानकारी दिए।
झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानी लगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न शरू भइसकेको छ।
यसैबीच, प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस पनि शनिबार विविध कार्यक्रम गरी मनाइँदैछ।
जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा दिवस मनाउन लागिएको हो।
देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक सनातन ग्रन्थमा गरिएको छ।
आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्संकल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
