जाजरकोटमा बिहानैदेखि वर्षा, समस्यामा भूकम्पपीडित

भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकामा शनिबार बिहान ७ बजेदेखि मुसलधारे वर्षा भइरहेको ४ नम्बर वडाका अध्यक्ष विष्णु रावतले बताए। 

फाइल तस्वीर

जाजरकोट– भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा शनिबार बिहानैदेखि वर्षा भएको छ। भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकामा बिहान ७ बजेदेखि मुसलधारे वर्षा भइरहेको ४ नम्बर वडाका अध्यक्ष विष्णु रावतले बताए। 

वर्षाका कारण त्रिपालमा बसेका भूकम्पपीडित समस्यामा परेका छन्। “ यहाँका धेरै मानिसले पालसमेत पाएका छैनन्। उनीहरू घरबाहिर नै बसिरहेका छन्। ठूलो पानी परिरहेको छ,” उनले भने, “पीडितको बिजोग हुने भयो।”

भूकम्पले अधिकांश घर भत्किएकाले पीडित खुला आकाशमुनि नै बस्न बाध्य रहेको वडाध्यक्ष रावतले सुनाए। “त्रिपालले पनि थेग्न नसक्ने वर्षा भइरहेको छ,” उनले भने, “चर्किएका घरमा गएर बस्ने अवस्था छैन। पीडामाथि पीडा थपियो।” 

उक्त गाउँपालिकाका जिरीमैना, घर्तिगाउँ, तांसी धुम, लुवाक, सिमाकोटलगायत गाउँमा ठूलो पानी परेको खरब आएको उनले जानकारी दिए।