एकसरो लुगा र त्रिपालका भरमा रात काट्नुपर्ने बाध्यताका कारण ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीमा स्वास्थ्य समस्या देखिन थालेको छ।
कर्णाली– भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ। खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो।
अत्यधिक जाडोका कारण बिहीबार र शुक्रबार दुईजनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा नलगाड नगरपालिका–४ लहँका ४८ वर्षीया महिला पम्फा रावल र सोही वडाकै ८४ वर्षीय गोपालबहादुर रावल रहेको वडाध्यक्ष बद्री पन्तले जानकारी दिए।
चिसोले निमोनिया भएपछि उपचारका क्रममा दल्लीस्थित नगर अस्पतालमा पम्फाको मृत्यु भएको उनले बताए। वडाध्यक्ष पन्तका अनुसार लहँमा तुसारो परेको र सिरेटो जाडो पनि बढ्दै गएपछि एकसरो लुगा र त्रिपालका भरमा रात काट्नुपर्ने बाध्यताका कारण ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीमा स्वास्थ्य समस्या देखिन थालेको छ।
३७५ घरधुरी रहेको उक्त वडामा दम, बाथ र मुटु रोगी ३० ज्येष्ठ नागरिक र ३० जना सुत्केरीको व्यवस्थापन गर्न समस्या भएको छ। बालबालिका बिरामी हुन थालेको भन्दै वडाध्यक्ष पन्तले चिसोले स्वास्थ्य अवस्था बिग्रिँदै जाँदा बिरामीको संख्या बढ्न थालेको बताए।
दल्ली नगर अस्पतालका डा. विशाल उप्रेतीले चिसोका कारण ज्वरो, रुघाखोकी, झाडापखाला, मुटुरोग र दमका बिरामी बढिरहेको जानकारी दिए। अस्पतालमा ज्येष्ठ, नागरिक, बालिका, महिला गरी दैनिक १५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको उनको भनाइ छ।
भूकम्पले बाग्मारे–कल्लेरी, तिपतिपे–औल र चतुलाइना–कोठीगाउँ खानेपानीलगायत करिब ५० योजनामा क्षति पुग्दा खानेपानी संकट बढेको नगरप्रमुख डक्बरबहादुर रावतले बताए। “स्थानीय नदीको दुषित पानी खान बाध्य छन्,” उनले भने, “अधिकांश स्थानीयका शौचालय भत्किएपछि खुला स्थानमा शौच गर्न बाध्य भएकाले रोग फैलने खतरा बढेको छ।”
नेपालगन्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा. श्याम विकले भेरी नगरपालिकाको रावतगाउँ, नलगाडको चिउरी, कालेगाउँलगायत ठाउँमा चार दिनसम्म बसेर करिब ४०० बिरामीको उपचार गरेर फर्किएको बताए। उनका अनुसार भूकम्प गएको एक–दुई दिनदेखि नै बालबालिका र ज्येष्ठ नागरिकमा निमोनिया र दमको लक्षण देखिन थालिसकेको थियो।
नियमित औषधि सेवनकर्ताको भूकम्पले घर भत्काउँदा औषधि पुरिएपछि उनीहरूले औषधि खानबाट वञ्चित भए जसले गर्दा उनीहरूमा चिसोले असर पार्दै गएको छ।
आधारभूत आवश्यकता परिपूर्ति गर्न निरन्तर लागिपरेको नगरप्रमुख रावतको भनाइ छ। “एकैपटक सबै कुरा गर्न गाह्रो छ तथापि प्रतिपरिवार एउटा त्रिपाल र कम्बल दिएका छौँ,” उनले भने, “ त्यसको सहारामा रात कटाउनुपर्दा सिरेटो जाडोले ज्येष्ठ नागरिक, बालबालिका र सुत्केरीमा स्वास्थ्य समस्या देखिन थालेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
