झापामा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु, ३ घाइते

झापाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

झापा– झापामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)ले चलाएको स्कारपियोसँग मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा झापाको कमल गाउँपालिका वडा नं ६ का एक युवकको मृत्यु भएको छ।

कन्काइ नगरपालिका–८ बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार कमल–६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको हो।

शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक कमल–६ का १९ वर्षीय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ वर्षीय पूजन राजवंशी घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१च ७८३९ नम्बरको स्कारपियो र विपरीत दिशाबाट जाँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

स्कारपियो र चालक नेपाल प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक ५१ वर्षीय भीमबहादुर दाहाललाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

आगलागीमा वृद्धाको मृत्यु
अर्जुनधारा नगरपालिका–१० मा आफ्नै घरमा राति भएको आगलागीमा परेर ७३ वर्षीया दिलकुमारी राईको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रिजालका अनुसार राई दम्पती बसोबास गर्दै आएको कच्ची टाटी बेरा र टिनको छानो भएको घरमा शुक्रबार राति अचानक आगलागी भएको थियो।

राति ८ बजेतिर आगलागी हुँदा वृद्धा दम्पती घरभित्रै थिए। आगलागीमा परी वृद्धा राईको घटनास्थलमै मृत्यु भयो भने उनका पति ७५ वर्षीय शिवकुमार राई गम्भीर घाइते भएको रिजालले जानकारी दिए।  

उनका अनुसार आगलागीको खबर पाएलगत्तै सालबारी अस्थायी प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुग्दा वृद्धाको मृत्यु भइसकेको थियो। घाइतेलाई उपचारका लागि शनिश्चरेस्थित अर्जुनधारा नगर अस्पतालमा भर्ना गरिएको छ।

आगलागीका कारण थाहा हुन सकेको छैन। आगलागी घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

दुई फरार अभियुक्तलाई पक्राउ
जिल्ला प्रहरी कार्यालय झापाले बैंकिङ कसुरका दुई फरार अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ।

पक्राउ परेका मेचीनगर वडा नं १० की ३७ वर्षीया जुनु तिम्सिनालाई पाँच दिन र विर्तामोड वडा नं २ का ३१ वर्षीय शमशेर कन्दङ्वालाई सात दिनको कैद तोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रिजालले जानकारी दिए।

उच्च अदालत विराटनगरले अभियुक्त तिम्सिनालाई पाँच दिन कैद, पाँच लाख रुपैयाँ जरिबाना र २० हजार पीडित राहत कोषमा जम्मा गर्न गत जेठ ३१ गते फैसला गरेको थियो।

सोही अदालतको इलाम इजलासले अभियुक्त कन्दङ्वालाई सात दिन कैद, सात लाख ५० हजार रुपैयाँ जरिबाना र ३० हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न गत वर्षको असोज ५ गते फैसला सुनाएको थियो।

शुक्रबार पक्राउ परेका दुवै अभियुक्तलाई झापा जिल्ला अदालतमा पेस गरी शनिबार जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

आफ्नै भिनाजुको हत्यामा संलग्न बुद्धशान्ति गाउँपालिका–५ का ३५ वर्षीय रोशन अधिकारी पक्राउ परेका छन्। सूचना अधिकारी रिजालका अनुसार अभियुक्त अधिकारी कात्तिक २२ गते राति भिनाजु नाता पर्ने ४५ वर्षीय धनबहादुर कटुवाललाई घरायसी विवादमा खुकुरीले प्रहार गरेर हत्या गरी फरार भएका थिए।