नेपाली फूल प्रवर्द्धन गर्न महानगरले ४ ठाउँमा तोक्यो बिक्री केन्द्र

महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेले शान्तिपूर्वक देउसी भैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने बताए।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले नेपाली किसानबाट उत्पादित फूल बिक्रीका लागि सहजीकरण गर्ने भएको छ। महानगरले नेपाली किसानले उत्पादन गरेको फूललाई प्रवर्द्धन गर्न र सहुलियत दिन चार ठाउँमा स्टल राख्ने जनाएको हो।

शनिबार काठमाडौँ महानगरले गरेको पत्रकार सम्मेलनमा महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेले मखमली, सयपत्री लगायतका फूलका बिक्रीका लागि महानगरभित्र सहजीकरण गर्ने बताए।

उनका अनुसार भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा नेपाली कृषकले उत्पादन गरेका फूल बिक्रीका लागि केन्द्र तोकेर महानगरले सहजीकरण गर्ने भएको हो। नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न सबैले पहल गर्नुपर्ने औँल्याउँदै यस्ता उत्पादन बिक्री वितरणका लागि व्यवस्थित रूपमा अघि बढ्नुपर्ने बताए। तिहारका बेला फूल अत्यधिक खपत हुने गर्छ।

त्यस्तै, महानगरले सुरक्षित रूपमा तिहार मनाउन आग्रह गरेको छ। तिहारलाई भव्य र सुरक्षित रूपमा सम्पन्न गर्न राति १ बजेसम्म गस्ती गर्ने जनाएको छ।

शान्ति सुरक्षाका लागि तिहारका बेला ८ बजेदेखि राति १ बजेसम्म नै महानगरले गस्ती गर्ने उनले बताए। तिहारका बेला चार क्षेत्रबाट गस्ती हुने उल्लेख गर्दै उनले शान्तिपूर्वक देउसी भैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने बताए।