‘भूकम्प प्रभावित क्षेत्रमा मंसिरभित्र अस्थायी आवास बनाउन नसके स्थिति भयावह हुन्छ’

कांग्रेस महामन्त्री गगन थापा भूकम्प प्रभावितका लागि ५०/६० हजार अस्थायी आवास आवश्यक रहेको र मंसिरभित्र अस्थायी बसोबासको व्यवस्था गर्न नसके पुसको चिसोले अवस्था भयावह हुने बताउँछन्।

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित क्षेत्रमा तत्काल अस्थायी आवास नबनाइए जाडो बढ्दै जाँदा स्थिति भयावह हुने बताएका छन्। शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कांग्रेसका तर्फबाट ध्यानाकर्षणपत्र बुझाएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा भूकम्पका कारण जाजरकोट र रूकुमपश्चिममा ठूलो संख्यामा घरहरू बस्न नमिल्ने अवस्थामा रहेको बताएका हुन्।

उनी र अर्का महामन्त्री विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्रको अवस्था अनुगमनपछि त्यहाँको वस्तुस्थितिबारे प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउँदै सुझाव पेस गरेका थिए। उनले भूकम्प प्रभावित क्षेत्रमा ५०/६० हजार अस्थायी आवास बनाउनु पर्ने बताए। मंसिरभित्र भूकम्प प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न नसके पुसको जाडोले अवस्था भयावह हुने उनको भनाइ छ।

“अब जाडो शुरू भइसकेको छ। अस्थायी टहरा बनाउने काम त्यहाँ करिब करिब ५०/६० हजार बनाउनु पर्नेछ। किनकि त्यति धेरै घरहरू बस्न नमिल्ने अवस्थामा छन्। त्यो अस्थायी टहरा बनाउने काम हामीले मंसिरभित्र यदि सम्पन्न गर्न सकेनौँ भने पुसको जाडो यो त्रिपालले थेग्नै सक्दैन। र, यसले यति ठूलो भयावह स्थितिको सिर्जना गर्छ।”

भूकम्पपीडितलाई तत्काल ३५ देखि ४० हजार रुपैयाँसम्म दिँदा अस्थायी बसोबास बन्न सक्ने उनको भनाइ छ। आफूहरूले दुई दिनमा त्यति रकममा अस्थायी ठहरा निर्माण गरेको उल्लेख गर्दै उनले भने, “बजारबाट किनेको सामग्री र त्यो मिस्त्रीलाई दिने श्रमको रुपैयाँ जोड्दै गर्दा खेरी ४० हजार रुपैयाँभन्दा कममा करिब करिब ३४/३५ हजार रुपैयाँको सेरोफेरोमा ६ घण्टाभित्रमा एउटा अस्थायी २ कोठे टहरा बनाउन सकिने रहेछ। जुन टहराले कम्तिमा यो हिउँद त थेग्छ, थेग्छ। त्यस्तै पर्दा खेरी वर्षा पनि थेग्न सक्छ। यो अहिले बनाइएन भने त्यसपछि यसलाई कसैले पनि थेग्न सक्दैन।”

उनले यसका लागि प्रधानमन्त्रीलाई अविलम्ब मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रदेश र स्थानीय सरकारमार्फत काम थाल्न आग्रह गरेको बताए। ठूलो परिणाममा चाहिने जस्तापातालगायतका आवश्यक सामग्रीको सुनिश्चितता केन्द्र सरकारले गर्नुपर्ने उनको भनाइ छ। जनशक्तिको अभाव पूर्ति गर्ने सम्बन्धमा पनि सरकारले ध्यान दिनुपर्ने बताए। उनले पहिलो चरणमा आवश्यक पर्ने जनशक्ति लिएर जानुपर्ने बताए।

“नेपाली कांग्रेस पार्टीका तर्फबाट पहिलो चरणमा न्यूनतम पनि एक हजार अस्थायी टहरा बनाउन लाग्ने भनेर संकल्प लिएका छौँ।पहिलो चरणमा हजार घर निर्माण गर्नका निम्ति चाहिने दक्ष जनशक्ति चाहियो, हामीले यहाँबाट लिएर जानुपर्छ,” उनले भने। उनले मंसिर पहिलो साता नै हजार घर बनाउनका लागि पार्टीका कार्यकर्ता खटिएर जाने बताए।

विद्यालय स्थायी रूपमा बनाउन समय लाग्ने भएकाले अस्थायी सिकाइ केन्द्र बताए तुरुन्त पढाइ सञ्चालन गरे बालबालिकाको अवस्था सामान्य अवस्थामा फर्किन सक्ने उनको भनाइ छ। यसका लागि सरकारलाई सहयोग गर्ने थुप्रै सहयोगी निकायहरू रहेको पनि उनले बताए। “स्वास्थ्य संस्थाहरू बनाउने कुरामा पनि तत्काल काम होस् भन्ने कुरा छ,” उनले भने, “प्रदेश योजना आयोगले विपद्को काम गरोस् भन्ने हाम्रो चाहना छ।”