गाजाको अल शिफा अस्पतालमा विद्युत् अवरुद्ध हुँदा ३९ शिशुको ज्यान जोखिममा

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले विद्युत् अवरुद्ध हुँदा अल शिफा अस्पतालमा सघन उपचार कक्षमा उपचाररत ३९ शिशुको ज्यान खतरामा रहेको बताएको छ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले अल शिफा अस्पतालमा सघन उपचार कक्षमा उपचाररत ३९ शिशुको ज्यान खतरामा रहेको बताएको छ।

प्यालेस्टिनी स्वास्थ्यमन्त्री माई अल–कैलाले विद्युत् कटौती हुँदा अस्पतालमा रहेका ३९ शिशु मृत्युको मुखमा पुगेको बताएकी हुन्। स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती शिशुहरू 'मृत्युको जोखिममा रहेको' जनाएको हो।

पत्रकार सम्मेलनमा उनले इजरायली बमबारीबाट अल–शिफा अस्पतालमा प्रसूति तथा स्त्रीरोग वार्डको चौथो तल्ला र बहिरंग विभागमा क्षति पुगेको बताइन्। जसका कारण अस्पताल र बाल सघन उपचार कक्षमा विद्युत् आपूर्ति बन्द हुँदा अक्सिजन अभावमा ३९ शिशुको ज्यान जोखिममा परेको उनको भनाइ छ। 

“इजरायलीले गाजा पट्टीका अस्पताल, स्वास्थ्य संस्था र एम्बुलेन्सलक्षित आक्रमण गर्नु युद्ध अपराध र नरसंहार हो,” उनले भनिन्। गाजा क्षेत्रमा इजरायल आक्रमण ३६ दिनदेखि जारी छ। उनका अनुसार इजरायली आक्रमणबाट गाजा क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थामा ठूलो क्षति पुगेको छ।

इजरायली आक्रमणमा परी अहिलेसम्म ११ हजारभन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। जसमध्ये ४ हजार ५०० भन्दा बढी बालबालिका, ३ हजार बढी महिला र ७०० भन्दा बढी वृद्ध व्यक्ति रहेको बताइएको छ।