जाजरकोट भूकम्प : तिहारलगत्तै पुनर्निर्माण थाल्ने कर्णाली प्रदेशको निर्णय

कर्णाली प्रदेश सरकारले तिहारलगत्तै जाजरकोट भूकम्प प्रभावितको पुनर्स्थापनाका साथै पुनर्निर्माणका काम अगाडि बढाउने निर्णय गरेको छ।

भेरीगंगा (सुर्खेत)– कर्णाली प्रदेश सरकारले तिहारलगत्तै जाजरकोट भूकम्प प्रभावितको पुनर्स्थापनाका साथै पुनर्निर्माणका काम अगाडि बढाउने निर्णय गरेको छ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण जाजरकोट र रूकुमपश्चिम ध्वस्त भएका संरचनाको पुनर्निर्माण शुरू गर्ने निर्णय गरेको हो। प्रदेश सरकारले जाजरकोट र रूकुमपश्चिममा पुनर्निर्माणमा सघाउन सबै निकायसँग अपिल गरेको छ।

मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले स्थायी आवास निर्माणका लागि आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्था गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए।

कार्यविधि बनाएर पुनर्निर्माणका काम थालिने मन्त्री सिजीले जानकारी दिए। भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरूको उपचारका लागि तत्काल रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। कात्तिक १७ गते जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट कर्णाली प्रदेशअन्तर्गत जाजरकोट, रूकुमपश्चिमसहितका जिल्लामा ठूलो धनजनको क्षति पुगेको छ।