प्राधिकरणले काट्यो विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन

लाइन काटिएका ग्राहकबाट करिब ६२ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको र तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाउने प्राधिकरणको भनाइ छ।

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले समयमा महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको जनाएको छ। कात्तिक १२ गतेदेखि विद्युत् महसुल बक्यौता असुलीलाई देशभर अभियानका रूपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २४४ ग्राहकको लाइन काटिएको जनाएको हो।

लाइन काटिएका ग्राहकबाट करिब ६२ करोड रुपैयाँ बक्यौता असुलउपर गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेका हुन्।

प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी मधेश प्रदेशमा लाइन काटिएको छ। मधेश प्रादेशिक कार्यालय, जनकपुर मातहतका वितरण केन्द्रहरूले ४ हजार ८५२ ग्राहकको लाइन काटेका छन्। मधेश प्रदेशमा उपभोक्ताबाट १७ करोड ११ लाख रुपैयाँ बक्यौता उठाउन बाँकी छ।

कोशी प्रादेशिक कार्यालय, विराटनगर मातहतका वितरण केन्द्रहरूले महसुल नतिर्ने ४ हजार ३३१ ग्राहकको लाइन काटेको छन्। यहाँ ग्राहकबाट ९ करोड ८१ लाख रुपैयाँ बक्यौता रकम उठ्न बाँकी छ। लुम्बिनी प्रदेश डिभिजनल कार्यालय, नेपालगन्ज मातहतका वितरण केन्द्रहरूले ४ हजार १८ ग्राहकको लाइन काटेका छन्। यहाँ ३ करोड ८५ लाख रुपैयाँ बक्यौता रकम उठ्न बाँकी छ।

लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन्द्रहरूले ३ हजार ३५२ ग्राहकको लाइन काटेका छन्। यी उपभोक्ताबाट ७ करोड ८५ लाख रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।

बागमती प्रादेशिक कार्यालय, काठमाडौँ मातहतको वितरण केन्द्रहरूले २ हजार ७९३ ग्राहकको लाइन काटेका छन्। यी उपभोक्ताबाट ११ करोड ३४ लाख रुपैयाँ उठ्नुपर्ने छ।

गण्डकी प्रादेशिक कार्यालय, पोखराले महसुल नतिर्ने २ हजार ७५५ ग्राहकको लाइन काटेको छ। यहाँ ४ करोड ६ लाख रुपैयाँ उठ्न बाँकी रहेको छ।

४ करोड ८२ लाख रुपैयाँ बक्यौता नउठेपछि बागमती प्रदेश डिभिजनल कार्यालय, हेटौँडा मातहतका वितरण केन्द्रहरूले २ हजार १ सय ७७ ग्राहकको लाइन काटेका छन्। त्यस्तै, सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया मातहतका वितरण केन्द्रहरूले १ हजार ३४२ ग्राहकको लाइन काटेका छन्। यी उपभोक्ताबाट २ करोड २७ लाख रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।

९१ लाख रुपैयाँ बक्यौता नउठेपछि  कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत मातहतका वितरण केन्द्रहरूले ६ सय २४ ग्राहको लाइन काटेका छन्। प्राधिकरणले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाउने जनाएको छ। 

विद्युत् महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ। मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँ दिनसम्म ५ प्रतिशतका  दरले र ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ। मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि विलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ।

यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा  लाइन काट्ने व्यवस्था छ ।  लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताहरूलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।

प्राधिकरणले विनियमावलीको यही प्रावधानको आधारमा मिटररिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तान नगर्ने उपभोक्ताहरूको चरणबद्ध रूपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिएको छ।  

सर्लाहीको बलरा क्षेत्रमा संगठित रूपमै बिजुली जोरी
नेपाल विद्युत् प्राधिकरणले सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा संगठित रूपमै विद्युत् चोरी भइरहेको बताएको छ। नेपाल विद्युत् प्राधिकरण मधेश प्रादेशिक कार्यालय, जनकपुरले आइबार, सोमबार, मंगलबार र बुधबार बलरा नगरपालिका विभिन्न स्थानमा गरेको छड्के जाँचका क्रममा घरायसी तथा अन्य ग्राहकले गैर कानुनी रूपमा व्यापक बिजुली प्रयोग गरिरहेको फेला पारेको हो।

प्रादेशिक कार्यालय जनकपुरले नमूनाका रूपमा एक सय ग्राहकको सिंगल तथा थ्री फेज मिटरको छट्के जाँच गरेको थियो। त्यसमध्ये ४० भन्दा बढी ग्राहकले विद्युत् चोरी गरिएको पाइएको कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले बताए।

प्रमुख ठाकुरले विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारेर किला हालेर घुम्न नदिने, मिटरलाई बाइपास गरी विद्युत् प्रयोग गर्नेलगायतका गैर कानूनी क्रियाकलाप संगठित रूपमै भइरहेको पाइएको बताए। उनका अनुसार गैरकानूनी रूपमा विद्युत् प्रयोग गरिरहेका ग्राहकलाई जरिबानासहित हदैसम्मको कारबाही गर्न मलंगवा वितरण केन्द्रलाई निर्देशक दिइएको छ। उक्त केन्द्रको विद्युत् चुहावट ५२ प्रतिशत छ।

कार्यालयले विद्युत् चोरेर प्रयोग गरिरहेको थ्री फेजका दुई वटा राइस मिल र एउटा सिँचाइका ग्राहकलाई जरिबानासहित कारबाही गरेको छ। मिलहरूले मिटर बाइपास गरी विद्युत् प्रयोग गरिरहेका थिए । ब्रम्हबाबा जल उपभोक्ता समिति, धनकौलले ५० एमभिएको निजी ट्रान्सफर्मर जडान गरी बिनामिटर एक वर्षदेखि विद्युत् चोरेर प्रयोग गरिरहेको थियो। उक्त समितिलाई साढे ६१ हजार रुपैयाँ जरिबाना तिराइएको छ।