पुरुषोत्तम आचार्यको खण्डकाव्य ‘जुनेली’माथि परिचर्चा

नेपाली समाजमा भएको जातीय तथा वर्गीय विभेदलाई लिएर झ्याउरे छन्दमा लेखिएको खण्डकाव्यमाथि तीन जना समालोचकले चर्चा गरेका छन्।

खण्डकाव्यको सार बुझाउने गरी प्रस्तुति दिएपछि कलाकारहरू।

काठमाडौँ– कवि पुरुषोत्तम आचार्यको खण्डकाव्य ‘जुनेली’माथि शनिबार परिचर्चा कार्यक्रम भएको छ। इच्छुक प्रतिष्ठानमा भएको कार्यक्रममा उक्त कृतिको विमोचन पनि गरिएको छ।

झ्याउरे छन्दमा लेखिएको कृतिमा जातीय तथा वर्गीय विभेदको कथा बुनिएको छ। जुनेलीमाथि परिचर्चा गर्दै प्राडा ताराकान्त पाण्डेयले कृतिले नेपाली समाजको उत्पीडनलाई उजागर गरेको बताए। प्रगतिवादी कोणबाट भने केही कमिकमजोरी रहेका र त्यसलाई दोस्रो संस्करणमा सुधार्न सकिने उनको भनाइ थियो।

त्यस्तै डा. रामप्रसाद ज्ञवालीले खण्डकाव्य सरल र काव्यात्मक भाषामा लेखिएको भन्दै कविको प्रशंसा गरे। तर खण्डकाव्यको आख्यानीकरण कमजोर भएको र फिल्मीशैलीबाट प्रभावित भएको उनले बताए।

समालोचक डा. गीता त्रिपाठीले खण्डकाव्यको भाषा सरल, काव्यिक र आकर्षक रहेको तथा बिम्बात्मक बनाइएको बताइन्। कृतिले समाजको विभेदलाई चित्रण गरेको उनको भनाइ थियो। तर छन्दविधानमा कतैकतै कमजोरी रहेको पनि उनले बताइन्।

कवि आचार्यले खण्डकाव्यको कथा ७० प्रतिशत यथार्थ भएको बताए। आफूले बाल्यकालदेखि नै देखिरहेको समाजलाई केही कल्पनाशीलता थपेर खण्डकाव्य लेखेको आचार्यले बताए। यसमा भएका कमिकमजोरी देखाइदिएर अग्रजहरूले आगामी दिनका लागि आफूलाई सजग गराएको पनि उनको भनाइ थियो।

कार्यक्रममा खण्डकाव्यको सारलाई नाटकमा प्रस्तुतसमेत गरिएको थियो। कलाकारहरू आईपी आचार्य, सेविता अधिकारी र सौगात बस्नेतको प्रस्तुति आकर्षक थियो।