जाजरकोट भूकम्प: प्रतिकार्यका लागि आईएफआरसीद्वारा आपत्कालीन अपिल

आईएफआरसीले जाजरकोट भूकम्पबाट प्रभावितलाई तत्काल १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो।

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)ले जाजरकोट भूकम्प पीडितका लागि सहयोग अभिवृद्धि गर्न आपत्कालीन अपिल जारी गरेको छ।

उसले आफ्ना कार्यादेशअनुसार विपद् पीडितलाई राहत, प्रतिकार्य तथा पुनर्लाभका लागि सहयोग उपलब्ध गराउन यस्तो अपिल जारी गर्ने गर्छ। आईएफआरसीले जाजरकोट भूकम्प पीडितका लागि स्वीस फ्रयांक ५० लाख रुपैयाँ बराबरको आपत्कालीन सहयोगको लागि अपिल जारी गरेको हो। आईएफआरसीले २०७२ वैशाखको भूकम्प पीडितका लागि पनि आपत्कालीन अपिल जारी गर्दै मानवीय सेवा उपलब्ध गराएको थियो।

अहिले आईएफआरसीले नेपाल रेडक्रस सोसाइटीमार्फत हाल जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई आवास र गैरखाद्य सामग्री–नगद वितरण (आकस्मिक आवास, तारपोलियन, म्याट्रेक्स, ब्ल्यांकेट, बुकटेस), स्वास्थ्य (मनोसामाजिक, परामर्श) सरसफाइ,जीविकोपार्जन तथा अत्यावश्यक वस्तु उपलब्ध गराइरहेको छ। 

राहत वितरणका साथमा भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने यहाँस्थित आईएफआरसी कार्यालयले जनाएको छ। 

आईएफआरसीले जाजरकोट भूकम्पबाट प्रभावितलाई तत्काल १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो। आईएफआरसीका महासचिव जगन चापागाईँले नेपालमा मानवीय सेवाका थप सहयोग उपलब्ध गराउने बताएका छन्।