देवचुली जिप दुर्घटनाका मृतक चारको पहिचान खुल्यो

नवलपरासीको देवचुली नगरपालिका–९ मा भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका ६ जनामध्ये चारको पहिचान खुलेको छ।

काठमाडौँ– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका ६ जनामध्ये चारको पहिचान खुलेको छ।

आइतबार बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटनामा परेको थियो। घटनास्थलमै महिला र पुरुष तीन/तीन जनाको मृत्यु भएको थियो। प्रहरीका अनुसार जिपमा सात जना सवार थिए।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार ज्यान गुमाएकामध्ये चार जनाको सनाखत भएको भने दुईको बाँकी छ। नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा जिप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाका १२ वर्षीया करिष्मा ठाडा रहेका छन्।

दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका–२ मदनपुरका १८ वर्षीय चीरन अर्यालको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र ‘ब्रेक फेल’ भई दुर्घटना भएको अनुमान गरिएको प्रहरीको भनाइ छ।