गोरखाको धार्चेमा आगलागी हुँदा दुई जनाको मृत्यु

गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा आगलागी हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ।

गोरखा– गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा आगलागी हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ। शनिबार राति ७८ वर्षीया कान्छी गुरुङको घरमा आगलागी भएको हो। 

आगलागीबाट उनी र अपांगता भएका उनका ३९ वर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार आगलागीबाट घरभित्र भएका सबै सामान जलेर नष्ट भएका छन्। आगलागीको घटना शनिबार रातिको भए पनि दुर्गम भौगोलिक अवस्थाका कारण प्रहरीलाई आइतबार बिहान मात्रै खबर आएको थियो। 

न्यानो बनाउन घरभित्र बालिएको आगोबाट सल्किएर घरमा आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक नरबहादुर साउदको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलतर्फ गएको छ। मृतकको शव घटनास्थलमै रहेको छ।