बांग्लादेशमा पारिश्रमिक वृद्धिको आन्दोलनमा ४ तयारी पोसाक श्रमिकको मृत्यु

बांग्लादेशमा सञ्चालित तयारी पोसाक कारखानाले लेभी, जारा र एच एन्ड एमलगायत विश्वका थुप्रै शीर्ष ब्रान्डहरूलाई पोसाक आपूर्ति गर्दछन्। तर यस क्षेत्रमा कार्यरत ४० लाख श्रमिकमध्ये अधिकांशको स्थिति दयनीय छ।

तस्वीर : एएफपी

सरकारले गरेको पारिश्रमिक वृद्धि प्रस्तावप्रति असन्तुष्टि जनाउँदै बांग्लादेशका सयौँ तयारी पोसाक श्रमिकले आइतबार जुलुस निकालेका छन्। सरकारी प्रस्ताव अत्यन्त कम भएकाले उचित पारिश्रमिकको माग गर्दै गत महिनाबाट शुरू भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या बढेर चार पुगेको छ।

एक दशकयताकै सबैभन्दा ठूलो श्रमिक प्रदर्शनले बांग्लादेश अशान्ति छ। न्यूनतम पारिश्रमिक तीन गुणाले बढाएर २३ हजार टाका (दुई सय आड अमेरिकी डलर) बनाउनुपर्ने माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका हजारौँ श्रमिक र प्रहरीबीच ठाउँठाउँमा झडप भएको छ। प्रदर्शनका क्रममा सयौँ कारखाना क्षतिग्रस्त भएका छन्।

बांग्लादेशको तीन हजार पाँच सय तयारी पोसाक कारखानाले मुलुकको ५५ अर्ब अमेरिकी डलरको वार्षिक निर्यातमा करिब ८५ प्रतिशत योगदान गर्दछन्। बांग्लादेशमा सञ्चालित तयारी पोसाक कारखानाले लेभी, जारा र एच एन्ड एमलगायत विश्वका थुप्रै शीर्ष ब्रान्डहरूलाई पोसाक आपूर्ति गर्दछन्। तर यस क्षेत्रमा कार्यरत ४० लाख श्रमिकमध्ये अधिकांशको स्थिति दयनीय छ। यिनीहरूमा अधिकांश महिला छन् र उनीहरूको मासिक पारिश्रमिक आठ हजार तीन सय टाका (७५ अमेरिकी डलर) बाट शुरू हुन्छ। 

सरकारले नियुक्त गरेको प्यानलले मंगलबार मुलुकको तयारी पोसाक कारखानाका ४० लाख श्रमिकका लागि पारिश्रमिकमा ५६.२५ प्रतिशतले वृद्धि गरेको थियो। श्रमिकहरूले उक्त प्रस्तावलाई अस्वीकार गरेका छन्। पारिश्रमिकको वृद्धि प्रस्तावपछि तिनीहरूको विरोध प्रदर्शन बढ्दै गएको छ र यस अवधिमा कम्तीमा ७० कारखानामा तोडफोड गरिएको छ।