भूकम्पबाट जाजरकोट र रूकुमपश्चिमका ३९ प्रहरी कार्यालयमा क्षति

भूकम्पले जाजरकोट र रूकुमपश्चिममा गरेर जिल्ला प्रहरी कार्यालयका भवनसँगै ३९ वडा प्रहरी भवनमा क्षति पुर्‍याएको छ।

फाइल तस्वीर

त्रिवेणी (रूकुमपश्चिम)–  कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रूकुमपश्चिमका प्रहरी कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ। भूकम्पले जाजरकोट र रूकुमपश्चिममा गरेर जिल्ला प्रहरी कार्यालयका भवनसँगै ३९ वडा प्रहरी भवनमा क्षति पुर्‍याएको हो।

जाजरकोटमा मात्रै २९ वटा प्रहरी कार्यालयका भवन आंशिक क्षति हुँदा चार भवन भने पूर्णरूपमा ध्वस्त भएका जिल्ला प्रहरी कार्यालयका जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयको भवन, चुनेचाँदे गाउँपालिका–९ मा रहेको इलाका प्रहरी कार्यालय पञ्चलादह, भेरी नगरपालिका–३ मा रहेको जिल्ला अदालत समन्वय सुरक्षा इकाई कार्यालय र सोही ठाउँकै अस्थायी प्रहरी चौकी पूर्णरूपमा क्षति भएका हुन् । 

जिल्लामा भूकम्पले आंशिक क्षति पुर्‍याइएका २९ प्रहरी भवनमध्ये चार वटा कम जोखिम भएकाले सोही भवनबाट सेवा सञ्चालन भइरहेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए। अन्य जोखिम रहेका ठाउँमा त्रिपालबाट सेवा प्रवाह भइरहेको उनले बताए।

त्यस्तै, रूकुमपश्चिममा १० वटा प्रहरी कार्यालयमा क्षति हुँदा पाँच भवन पूर्णरूपमा ध्वस्त भएका छन् भने पाँच वटामा आंशिक क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय रूकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार जिल्ला प्रहरी कार्यालयको पुरानो भवन बस्न नमिल्ने गरी क्षति भएको छ।

प्रहरी चौकी पूर्तिमकाँडा, प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्ली र इलाका प्रहरी कार्यालय आठबिसकोटका भवन पूर्णरूपमा भूकम्पले क्षति पुर्‍याएको छ।

सिम्लीको प्रहरी चौकी अरूको घरमा सरेर सेवा दिइरहेको छ भने आठबिसकोट इलाका प्रहरी कार्यालयले त्रिपालबाट सेवा दिइरहेको प्रनाउ भट्टराईले जानकारी दिए।

बाँकी अस्थायी प्रहरी चौकी साँख, स्यालाखदी, पीपल, भुल्नेटा र इलाका प्रहरी कार्यालय चौरजहारीमा आंशिक रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रूकुमपश्चिमले जनाएको छ।