भूकम्प प्रभावित क्षेत्रमा फजुल खर्च रोक्न प्रधानमन्त्रीलाई कांग्रेस महामन्त्री थापाको आग्रह

कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्री दाहाललाई भूकम्प प्रभावित क्षेत्रमा फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न आग्रह गरेका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित जाजरकोट र रूकुमपश्चिममा फजुल खर्च रोक्न आग्रह गरेका छन्।

आइतबार प्रधानमन्त्री दाहाललाई भेटेर महामन्त्री थापाले फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न आग्रह गरेका हुन्।

सरकारले सबैभन्दा पहिले आधारभूत सेवा भूकम्पपीडितलाई दिनुपर्ने त्यसपछि मात्र अन्य सहयोगी दाताहरू तथा अन्यत्रबाट सहयोग माग्नुपर्ने उनको सझाव छ

आइतबार प्रधानमन्त्रीसँग भएको भेटमा महामन्त्री थापाले फजुल खर्च रोकेर भूकम्प प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्न आग्रह गरेको महामन्त्री थापाको निजी सचिवालयले जनाएको छ।

महामन्त्री थापाले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ का लागि छुटाइएको आठ अर्ब २५ करोड रुपैयाँ पुनर्निर्माण कोषमा जम्मा गर्न अनुरोध गरेका थिए। भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न उनले आग्रह गरे।