स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले कृषकले उत्पादन गरेको २० लाख रुपैयाँ बराबरको सयपत्री फूल संकलन गरेर बजारीकरणमा सहयोग गरेको छ।
गल्याङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले २० लाख रुपैयाँको सयपत्री फूल निर्यात गरेको छ।
गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई संकलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको थियो। कृषि शाखा प्रमुख अनुप पौडेलले हालसम्म २० लाख बराबरको फूल निर्यात भइसकेको जानकारी दिए।
फूलखेतीका लागि पालिकाभित्रका सात वडाका १६ कृषक तथा समूहलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको उनले बताए। तिहार अवधिभर पालिकाभित्र अनुदान पाएका र नपाएका कृषकको २५ लाख रुपैयाँ बराबरको सयपत्रीका फूल निर्यात हुने पौडेलको दाबी छ।
“फूलखेती र ड्रागन खेतीका लागि १० लाख बजेट विनियोजन गरेका थियौँ,” उनले भने, “फूलखेती गर्न चाहेका ३२ कृषकको निवेदनमाथि उत्कृष्ट जमिन छनोट गरेर १६ समूह तथा कृषकलाई प्रतिरोपनी अनुमानित लागतको ५० प्रतिशत अनुदानअन्तर्गत नौ हजार उपलब्ध गराएका छौँ।”
पालिकाभित्र अनुदान लिएर गरेका फूलखेतीमध्ये धरादीका हीरामणि सुवेदी, लसर्गाबेँसीकी पुष्पासिंह राना, बाँसटारीका रविलाल गौडेल, लालप्रसाद न्यौपाने, इम्सिलका कासीराम न्यौपाने र बारीचौरका घनबहादुरको समूह खेती उत्कृष्ट छ। फूलखेती गर्ने हरेक कृषकलाई पालिकाले निःशुल्क परामर्श र प्राविधिक सहयोग गरेको छ।
“जुनसुकै मौसममा पनि फुल्ने क्रमा जातको ‘हाइब्रिड’ सयपत्री फूलखेती गर्न कृषकलाई सिफारिस गरेका छौँ,” उनले भने, “कृषकले बिक्री गर्न नसकेमा बजारीकरणका लागि पालिकाले सहयोग गरिरहेको छ।” अघिल्ला दुई वर्ष पाँच प्रदेशका केही ठूला पुष्प व्यापारीको समन्वयमा पालिकाभित्र उत्पादन भएको सयपत्री फूल बिक्री गरेको उनले सुनाए।
नमुना बारीचौर व्यावसायिक फूलखेतीका अध्यक्ष घनबहादुर थापाले पालिकाले बजारको जिम्मा लिने भएपछि फूलखेतीतर्फ आकर्षित भएको जानकारी दिए। “गाउँपालिकाले विगत तीन वर्षदेखि फूलखेती गर्ने कृषकलाई अनुदानसमेत उपलब्ध गराउँदै आएको छ,” उनले भने, “उत्पादित फूल पालिकाले नै बिक्री गरिदिने भएपछि सजिलो भएको छ।”
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले कालीगण्डकी गाउँपालिकालाई फूलैफूलको पालिका बनाउने उद्देश्यअनुरुप कृषकलाई फूल उत्पादनतर्फ उत्प्रेरित गरिरहेको बताए। यस वर्ष गाउँपालिकाको अनुदानमा १५ रोपनी क्षेत्रफलमा र अन्य कृषक समूह तथा व्यक्तिको ३५ रोपनी जमिनमा सयपत्री फूलखेती गरिएको जानकारी दिए।
कालीगण्डकीमा सयपत्री फूूलखेतीका लागि उपयुक्त माटो, हावा र पानी भएकाले आगामी वर्ष खेतीलाई विस्तार गर्ने पालिकाको योजना छ। “कालीगण्डकी पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएको पालिका हो,” अध्यक्ष थापाले भने, “यहाँ भएका होमस्टेलाई फूलको माध्यमबाट प्रवर्द्धन तथा विकास गर्ने, यहाँका धार्मिक तथा ऐतिहासिक महत्वका स्थल अवलोकन गराउने र आम्दानीको स्रोत बनाउने हाम्रो लक्ष्य हो।”
नागरिकले गाउँपालिकाको योजनालाई साथ दिँदा काम गर्न सजिलो भएको उनको भनाइ छ। ड्रागनखेती गर्न चाहने कृषकलाई पनि पोल, बिरुवा, टायललगायत सहयोग गरिएको पालिकाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
