नेपालमा टिकटकमाथि प्रतिबन्ध, आजैबाट बन्द गर्ने प्राविधिक तयारी

टिकटकलाई सोमबारबाटै नेपालभर बन्द गराउन प्राविधिक तयारी थालिएको सञ्चारमन्त्री रेखा शर्माले बताइन्।

काठमाडौँ– सरकारले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ। सरकारले सोमबारबाटै टिकटक बन्द गर्ने गरी प्राविधिक तयारी शुरू गरिएको हो।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको जानकारी दिइन्।

सामाजिक सद्भाव बिथोलिने, पारिवारिक तथा सामाजिक संरचनामा खलल पुग्ने गरी लगातार प्रचारप्रसार भइरहेकोले तत्काललाई टिकटक बन्द गर्ने निर्णय गरिएको उनको भनाइ छ।

उनका अनुसार टिकटक बन्द गराउनका लागि प्राविधिक काम थालिसकिएको छ। सम्भव भएसम्म आजैबाट टिकटकमाथि प्रतिबन्ध लाग्ने छ।

“मन्त्रिपरिषद्ले तत्काललाई टिकटक बन्द गर्ने निर्णय गरेको छ। बन्द गर्ने निर्णय भइसक्यो, यसलाई बन्द गर्न प्राविधिक लागि सक्नु भएको छ। प्राविधिक रूपमा सम्भव भएसम्म आजैबाट बन्द हुन्छ,” उनले भनिन्।