व्यापारी भन्छन्– महानगरले तोकेको स्टलबाट फूल बेच्दा घर फर्किने भाडा पनि उठेन

भृकुटीमण्डपको स्टलमा फूल बेच्न आएका किसान तथा व्यापारीले निश्चित ठाउँ तोकेर फूल बेच्न दिनु राम्रो भए पनि ठाउँबारे समयमै प्रचारप्रसार नहुँदा व्यापार हुन नसकेको गुनासो गरेका छन्।

काठमाडौँ– तिहारका लागि फूल बिक्री वितरण गर्न काठमाडौँ महानगरपालिकाले तोकेको भृकुटीमण्डप स्टलबाट फूल बिक्री नभएको व्यापारी तथा किसानले दुखेसो पोखेका छन्। फूल बिक्रीका लागि स्टलमा आएका किसान तथा व्यापारीले फूले बेचेर गाडी भाडासमेत उठाउन नसकेको गुनासो गरेका छन्।

काठमाडौँ महानगरले महानगरभित्रका भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा फूल बिक्रीका लागि स्थान तोकेको थियो। अहिले यी स्थानबाट तिहारका लागि आवश्यक पर्ने फूल बिक्री भइरहेको छ। तर महानगरले तोकेको स्थानमा फूल बिक्री गरिरहेका किसानले समयमै प्रचारप्रसार नभएकाले फूल बिक्रीमा गिरावट आएको बताएका छन्।

काठमाडौँ महानगर शनिबार मात्रै महानगरभित्रका चार स्थानमा फूल बिक्रीका लागि स्टल तोकिएको जानकारी दिएको थियो। भृकुटीमण्डपका फूल व्यापारीहरूले निश्चित ठाउँ तोकेर बिक्री गर्नु राम्रो भए पनि ठाउँबारे समयमै प्रचार हुन नसक्दा सोचेअनुरूप बिक्री हुन नसकेको बताए। फूल बिक्री नहुँदा व्यापारी मंगेश लिम्बूले आफूहरू मार्कामा परेको बताए। फुटपाथमा राख्नुभन्दा यहाँ व्यवस्थापन गर्नु राम्रो भए पनि प्रचारप्रसारमा ढिलाइ हुँदा समस्या भएको उनको भनाइ थियो।

“निश्चित ठाउँ तोकिनु अत्यन्तै राम्रो। विज्ञापन १५ दिनअघि गरेको भए व्यापारी र किसानहरूलाई मार्का पर्ने थिएन। जानकारी भएको भए फूल किन्न आउनुहुन्थ्यो। यहाँ राख्नु धेरै राम्रो तर विज्ञापन गर्न ढिलाइ भयो। बाहिर फुटपाथमा राख्नु भन्दा यसरी व्यवस्थापन गरेकै राम्रो,” न्युज एजेन्सी नेपालसँगको कुराकानी उनले भने।

त्यस्तै, काभ्रे कोशीपारिबाट फूल बेच्न भृकुटीमण्डप आएका व्यापारी सुजन श्रेष्ठले भृकुटीमण्डप कोल्टे ठाउँ भएकाले फूल बेच्न ग्राहक नआएको दुखेसो पुगे। उनले फूल बेचेर गाडी भाडासमेत नउठेको सुनाए।

“भृकुटीमण्डप कोल्टे ठाउँ भएकोले फूल बेच्न पाएनौँ। ग्राहक आएनन्। गाडी भाडासम्म उठेन। घर जानलाई गाडी भाडासम्म छैन। उल्टै ऋण गरेर जानुपर्ने भयो। यहाँ राखेर महानगरपालिकाले धेरै नराम्रो गर्‍यो जस्तो लाग्छ,” उनले भने।

यसअघिका वर्षमा फुटपाथमै फूल बिक्री हुने गरेको थियो। शनिबार महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेले त्यसलाई नियमन गर्न र किसानलाई फूल बेच्न सहजीकरण गर्न बिक्री केन्द्र तोकिएको बताएका थिए। यी केन्द्रमा नेपाली फूल प्रवर्द्धन गर्न नेपाली किसानले उत्पादन गरेका मखमली, सयपत्रीलगायतका फूल बच्न राखिने उनको भनाइ थियो।  

तर, ओखलढुंगाबाट फूल व्यापार गर्न आएका तेजेन्द्र विष्टले नेपाली किसानले उत्पादन गरेका फूललाई अवहेलना गरिएको गुनासो गरे। बजारीकरणको समस्याका कारण व्यापारीले फूल खोलामा फालेर हिँड्नुपर्ने स्थिति आएको उनको भनाइ छ।

“किसानले फूल खोलामा फालेर हिँड्नुपरेको छ। नेपाली उत्पादनलाई अवहेलना गरिएको छ। नेपाली उत्पादन सम्भावनाभित्र नरहेकोप्रति सरकारको ध्यान जानु आवश्यकता छ। उत्पादित सामान बेच्न बजारको समस्या भएकोले किसानको दुःखदायी अवस्था छ,” उनले भने। उनले पनि स्टलका बारेमा बेलैमा प्रचारप्रसार नभएकाले सोचेअनुरूप फूल बिक्री हुन नसकेको बताए।