पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन बेलायतको विदेशमन्त्री नियुक्त

बेलायती प्रधानमन्त्री ऋषि सुनकले पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन्।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन्। योसँगै पूर्वप्रधानमन्त्री क्यामरुन आश्चर्यजनक रूमा अग्रपंक्तिको राजनीतिमा आएका छन्।

ब्रेक्जिट जनमत संग्रहमा पराजित भएपछि प्रधानमन्त्री पद छाड्नुअघि उनी सन् २०१० देखि सन् २०१६ सम्म बेलायतको प्रधानमन्त्री थिए।

त्यसैगरी प्रधानमन्त्री सुनकले जेम्स क्लेभर्लीलाई गृहमन्त्रीमा नियुक्त गरेका छन्। क्लेभर्लीले सुएला ब्रेभरम्यानलाई गृहमन्त्रीको भूमिकाबाट विस्थापित गरेका हुन्। यसअघि उनी विदेशमन्त्री थिए।

सत्ता सम्हालेको करिब १३ महिनापछि प्रधानमन्त्री सुनकको यो सबैभन्दा ठूलो फेरबदल हो। यसअघि उनीले सोमबार विवादास्पद गृहमन्त्री सुएला ब्रेभरम्यानालाई बर्खास्त गरेका थिए। प्रधानमन्त्री सुनकले अर्को वर्ष हुने आमनिर्वाचनअघि आफ्नो शीर्ष टोलीमा फेरबदल गरेका हुन्।

विपक्षीले ब्रेभरम्यानमाथि बेलायतमा प्यालेस्टिनी समर्थकको प्रदर्शन र प्रति–विरोधका सातामा तनाव बढाएको आरोप लगाएका थिए। उक्त आरोपसँगै दक्षिणपन्थी नेता ब्रेभरम्यानलाई हटाउन प्रधानमन्त्री सुनकमाथि दबाब बढेको थियो। 

पदबाट बर्खास्त भएपछि ब्रेभरम्यानले भनिन्, “गृहमन्त्रीका रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य हो, आगामी दिनमा मैले भन्नुपर्ने धेरै कुरा हुनेछन्।”

सत्तारूढ कन्जरभेटिभले सुनकबाट शीर्ष मन्त्रीहरूम ठूलो फेरबदल हुँदैछ भन्ने पुष्टि गरेपछि मन्त्रिमण्डल पुनर्गठन भएको हो। सन् २०२२ अक्टोबरमा प्रधानमन्त्री बनेपछि सुनकको यो पहिलो पुनर्गठन हो।

“हामी यहाँ गएका छौँ”, पार्टीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “आज ऋषि सुनकले उज्ज्वल भविष्यका लागि दीर्घकालीन निर्णय लिँदै सरकारमा आफ्नो टिमलाई बलियो बनाउनु भएको छ, नयाँ जानकारीका लागि पर्खनुहोस्।”

सुनक प्रधानमन्त्री भएपछि पार्टी प्रमुख प्रतिपक्षी लेबर पार्टीसँग दोहोरो अंकको अन्तरले पछाडि परेको छ। अर्को वर्ष हुने निर्वाचनमा पराजित हुने व्यापक अनुमान गरिएको छ।