दशैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि बिकेनन्

च्याङ्ग्रा व्यापारी मीनबहादुर गुरुङले भने– ‘यसपालि आफ्नो परेको मूल्य उठाउन पनि निकै मुस्किल भयो, झन्डै भए एक महिना गाउँमै दाना पानी खुवाएर पालेँ।’

बागलुङ– कास्कीको माछापुच्छ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै ७०० च्याङ्ग्रा लिएर आए। बागलुङसम्म आइपुग्दा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गर्न सके। बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पुर्‍याए। तर सबै बिक्री हुन सकेनन्। ३५४ मात्रै बिक्री भए।

दशैँ सकिएपछि गुरुङले बाँकी रहेका ३४६ च्याङ्ग्रा आफ्नो गाउँ लिएर फर्किए। केही समय गाउँमै घाँस र दाना खुवाएर पालेपछि अहिले तिहारका लागि फेरि पर्वत हुँदै बागलुङसम्म च्याङ्ग्रा लिएर आएका छन्। दशैँका लागि ल्याएका च्याङ्ग्रा तिहारसम्म पनि नबिक्दा उनी साह्रै तनावमा देखिन्छन्। दशैँको भन्दा अहिले च्याङ्ग्राको मूल्य कम भएकाले बिक्री भइरहेको छ। पोहोर परार साल एक हजार खरिद गरेर ल्याए पनि दशैँमा सबै बिक्री भएका गुरुङ बताउँछन्। “यसपालि सोचेअनुसार व्यापार भएन”, उनले भने।

वर्षौंदखि भेडाच्याङ्ग्रा खरिद बिक्री गर्दै आएका गुरुङलाई यसपालि आर्थिक मन्दीका कारण ठूलो समस्या भएको छ। तिहारको दिनसम्म सबै च्याङ्ग्रा सक्ने योजनामा उनी छन्। कम मूल्यमा दिन थालेपछि दशैँका तुलनामा यस बेला बढी बिक्री भएका छन्। अझै पनि उनीसँग करिब डेढ सय च्याङ्ग्रा साथमै छन्।

गुरुङलाई तिहारसम्म सबै भेडा च्याङ्ग्रा बिक्री गर्न सकिँदैन कि भन्ने पिरले सताइरहेको छ। करिब दुई महिना च्याङ्ग्रा व्यापार गर्ने उनी १८ वर्षदेखि यही पेसामा लागेका छन्। दशैँ तिहारजस्ता ठूला पर्वमा धेरैले मासुका लागि च्याङ्ग्रा खोज्ने गर्दछन्। च्याङ्ग्राको यस वर्ष न्यूनतम ३० हजारदेखि ५८ हजार रुपैयाँसम्म मूल्य छ।

शहरबजारमा च्याङ्ग्राको मासुको अत्यधिक माग छ। एक करोड ५० लाख रुपैयाँमा खरिद गरेका च्याङ्ग्रा बिक्री नभएपछि नाफा पनि नउठाई बेच्न बाध्य भएको गुरुङले बताए। दशैँका बेला कम बिक्री गरे पनि पर्याप्त नाफा उठाउन पाएको उल्लेख गर्दै उनले तिहारसम्म बिक्री गरिसक्नुपर्ने हुँदा सस्तो भाउमा बेच्न थालेको बताए। बागलुङ बजारदेखि गलकोटसम्म पुगेर फर्कने योजना रहेको गुरुङ बताउँछन्।

“मैले व्यवसाय थालेको धेरै वर्ष भयो तर अहिलेसम्म यस्तो कहिल्यै पनि भएको थिएन, पहिले–पहिले च्याङ्ग्रा झरे भने ग्राहकले बाटोमै कुरेर बस्थे, छानी–छानी किन्ने गर्थे, पहिलेको तुलनामा अहिले अलिकति महँगो पनि भएर हो कि,” गुरुङले भने– “यसपालि त आफ्नो परेको मूल्य उठाउन पनि निकै मुस्किल भयो, झन्डै भए एक महिना त गाउँमै दाना पानी खुवाएर पालेँ।”

पुथा उत्तरगंगा पूर्वी रूकुमका तिलबहादुर बुढा मगरले पनि यसपालि सोचे अनुसार भेडाबाख्रा बेच्न सक्नुभएन। ३४ वर्षदेखि भेडापालन गर्दै आउनु भएका बुढा मगरले यो वर्ष सबैभन्दा कम व्यापार गरेको सुनाए। आफ्नो मुख्य व्यापार हुने क्षेत्र रूकुमकोट, बागलुङको निसीखोला, बुर्तिबाङ, बडिगाड, गुल्मीको वामीटक्सार चोरकाटे र रिडी भएको भन्दै सबै ठाउँमा पुग्दा पनि तीन सयभन्दा बढी भेडाबाख्रा बिक्री गर्न नसकेको उनको भनाइ छ। दशैँसम्म पाँच सय भेडा बिक्री गर्ने लक्ष्य राखेको उनी बताउँछन्।

गत वर्ष भेडाबाख्रा बिक्री गरेर १५ लाख आम्दानी गरे पनि यस वर्ष आधा मात्र कमाइ भएको बुढा मगर बताउँछन्। न्यूनतम २० हजारदेखि अधिकतम ४२ हजारसम्ममा बिक्री गरेको उनले बताए। बाँकी रहेका भेडा बथानमै लगेर छोड्ने बुढा मगरको भनाइ छ।