आज नेपाल संवत्‌को नयाँ वर्ष र म्ह: पूजा

शंखधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्‌को शुरूआत गरेका थिए। नेपाल देशको नामबाट राखिएकाले यसलाई मौलिक संवत् पनि भनिन्छ।

काठमाडौँ– नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्‌लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्‌को शुरूआत गरेका थिए। नेपाल संवत्‌ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्‌को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए। 

“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरू भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्‌का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो,” उनले भने।

नेपाल संवत्‌लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ। गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्‌समेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए। 

२०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत्‌ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको शुरूआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ। आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको छ।

म्ह: (आत्म) पूजा

आजैको दिन नेवार समुदायमा  म्ह: (आत्म) पूजासमेत गरिन्छ। कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आफ्नो आत्म पूजा पर्व मनाउने गर्दछन्।

यस वर्ष सोमबार र मंगलबार दुई दिन प्रतिपदा तिथि परेको छ। भक्तपुरलगायत केही स्थानमा भने सोमबार नै नेपाल संवत्‌को नयाँ वर्ष मनाइएको छ। भक्तपुरमा आत्म पूजा पनि हिजो नै गरिएको जनाइएको छ। भक्तपुर नगरपालिकाको निर्णयअनुसार यसो गरिएको हो। 

देशभरका धेरै नेवार समुदायले भने मंगलबार नेपाल संवत्‌को नयाँ वर्ष र म्ह: पूजा गर्दैछन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवत्‌को नयाँ वर्ष र आत्म पूजा आज गर्नुपर्ने जनाएको छ।