भेरी अस्पतालबाट निको भएर घर फर्किए भूकम्पका ४८ घाइते

भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामी मात्र नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत छन्।

राँझा– जाजरकोट भूकम्पमा घाइते भई नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन्।

अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामी मात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। “सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अब भेरीमा शल्यक्रिया गरिएका छ जना बिरामी मात्रै हुनुहुन्छ,” उनले भने, “उहाँहरूको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ।”

भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो। बिरामी निको भएर घर फर्किएपछि उक्त वार्ड खाली गराइएको स्रोत व्यक्ति श्रेष्ठले बताए। उनका अनुसार भेरीमा उपचार गर्न ल्याइएका ५८ जनामध्ये तीन जनालाई काठमाडौँ पठाइएको थियो भने एकजनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो। 

निको भएर घर फर्किएका बिरामीलाई घरसम्म पुग्न विभिन्न संघ संस्थाको समन्वयमा निःशुल्क यातायातको व्यवस्था गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए। कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्प गएको थियो।

उक्त भूकम्पमा परी १५४ जनाको मृत्यु भएको छ भने ३४६ घाइते भएका छन्। भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्ण रूपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको थियो।