महोत्तरीमा प्रहरीले चलायो गोली, २ जना गम्भीर

घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवान छन्।

जलेश्वर– महोत्तरीमा प्रहरीको गोलीबाट दुईजना घाइते भएका छन्। गए राति प्रहरीले हात हतियारसहित दुई जनालाई पक्राउ गरेको थियो।

प्रहरीको गाडीबाट भागेपछि दुवैजनालाई प्रहरीले गोली हानेको थियो। दुवै जना गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए। दुवै जनाले कात्तिक २० गते राति जलेश्वर नगरपालिका–८ का जयकिशोर चौधरीको घरबाट एक लाख नगद, सुनका गहना, चाँदी तथा एक थान मोबाइल लुटेका थिए।

प्रहरी सहायक प्रहरी निरीक्षक रामेश्वर यादवको नेतृत्वमा खटिएको टोलीले दुवै जनालाई मंगलबार गरुडा नगरपालिका–४ पानीट्यांकी नजिकैबाट पक्राउ गरेको थियो। प्रहरीले उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, गोली चार राउन्ड, मोबाइल एक थान र नगद रु चार हजार बरामद गरेको छ।

पक्राउ परेका दुवै जना महोत्तरी ल्याउँदै गर्दा राति सर्लाहीको संग्रामपुरबाट भाग्न खोजेपछि प्रहरीले चलाएको डीएसपी गिरीले बताए। उनीहरूको  प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ।