भूकम्पप्रभावितलाई तिहारको भन्दा चिसोबाट कसरी जोगिने भन्ने चिन्ता

भूकम्प प्रभावितलाई तिहारको भन्दा पनि अहिले रातको समयमा पर्ने शीत र बढ्दै गरेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता थपिएको छ।

पश्चिम रूकुमकाे आठबीसकाेट नगरपालिका क्षेत्रमा जाजरकोट भूकम्पले भत्काएका घरहरू । तस्वीरः रत्न श्रेष्ठ/रासस

त्रिवेणी(रूकुमपश्चिम)– जाजरकोट भूकम्पले मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्‍यायो। सयौँ घरबारविहीन भए। प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ। 

सल्यानको दार्मा गाउँपालिकाबाट तिहार मनाउन आफ्नो माइती जिल्ला रूकुमपश्चिमको आठबीसकोट–१३ मा छोरासँगै आएकी २६ वर्षीया  भूमिका शाही मल्ल  र ४ वर्षको छोरा लेखनाथको भूकम्पमा परी मृत्यु भयो। दुई आमाछोराको मृत्यु मात्रै भएन, उनकी आमा, बहिनीको ९ महिनाको छोरा र माइजूको समेत ज्यान गयो। उनीहरू पाँचै जनाको १४ नम्बर वडाको मामा घर ज्यामिरेकोट पूर्णगाउँमा मृत्यु भएको थियो। उनीहरू बिरामी माइजूलाई भेट्न त्यहाँसम्म पुगेका थिए।

यता आठबीसकोट नगरपालिका १३ हम्पाका लक्ष्मण शाहीलाई आमा बहिनी, दुई भान्जा गुमाउँदा ठूलो बज्रपात परेको छ। आमा, बहिनी, भान्जाहरू गुमाउनुको पीडा त छँदैछ । उनीहरूलाई तिहारले आफन्त सम्झाइरहेको छ।

यति बेला धेरै ठाउँमा तिहारको रौनक छ। ठाउँ–ठाउँमा देउसी भैलो खेलिरहेका छन्, रमाइलो गरिरहेका छन्। तर लक्ष्मणजस्तै सयौँ भूकम्पपीडितलाई तिहारले छुन सकेको छैन। भूकम्पले घरपरिवारमा पुर्‍याएको जनधनको कारण यो वर्ष तिहार आएको महसुससमेत गर्न नपाएको आठबीसकोट १३ हम्पाका लक्ष्मण शाहीले बताए।

“अघिल्ला वर्षमा बहिनीहरू आफ्नो घरबाट मखमली सयपत्री बोकेर टीका लगाउन आउँथे, तिहार सँगै बसेर सुखदुःख साटिन्थ्यो, यो वर्ष त हाम्रो परिवारमा भूकम्पले बज्रपात पर्‍यो, खुसीसमेत लुटेर लग्यो,” उनले भने।

तिहारभन्दा पनि अहिले रातको समयमा पर्ने शीत, पछिल्लो समयमा अत्यधिक बढेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता थपिएको आठबीसको नगरपालिका १३ भल्माका हरिबहादुर ओलीले बताए। तत्काल चिसोबाट हुने महामारीबाट जोगाउन र सुरक्षित बस्ने व्यवस्था मिलाउन स्थानीय सरकारलगायत सम्बन्धित निकायलाई गुहारसमेत गरिरहेको ओलीले बताए।

त्रिपाल लगाएर बारीमै चिसो रात काट्नु पर्दा निकै समस्या हुने गरेको सानीभेरी–४ का कालिकादेवी मल्लले बताए। यो वर्ष तिहारले नछोए पनि विनाशकारी भूकम्पबाट बाच्न सफल भएकोमा भने मल्लले खुशी व्यक्त गरे। उनले पनि सम्बन्धित निकायलाई अस्थायी बसोबासका लागि तत्काल व्यवस्था मिलाउन आग्रह गरे।

भूकम्पपीडितलाई पहिलो चरणको राहत वितरण सकिएकाले अस्थायी पुनर्निर्माण आवश्यक रहेको र सोहीअनुसार जिल्ला प्रशासन कार्यालय लागेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार सम्बन्धित स्थानीय तहलाई सोहीबमोजिम तयारी गर्न भनिएको छ। भूकम्प प्रभावित क्षेत्रमा तिहारलगतै अस्थायी पुनर्निर्माणको काम शुरू गरिने प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए।