मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइँदै

 गोवर्द्धन पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार पूजा गर्ने गरिन्छ।

धनुषा– दीपावलीको पाँचौँ दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइएको छ। मिथिला क्षेत्रमा बुधबार भ्रातृद्वितीया पर्व मनाइ रहँदा गोधन पर्वसमेत मनाइएको हो। गोधनमा कुटिएको अन्न भाइलाई खुवाएर भ्रातृद्वितीया पर्व मनाउने परम्परा समेत रहेको छ।

महिलाहरू एक ठाउँमा जम्मा भएर मंगल गीत गाउँदै मधेशमा यो पर्व मनाउने परम्परा रहेको छ। गणेश भगवान्लाई आराधना गर्दै शुरू गरिने यो पूजामा प्रकृतिको पूजा गरिन्छ। गोवर्द्धन पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार पूजा गर्ने गरिन्छ।

गाई मुख्य पशुधन मानिने त्यो बेला श्रीकृष्णले गोवर्द्धन पर्वतले गाई पाल्न गाई, गोरुलाई विभिन्न रङमा मिसाएर यो मिश्रणले रङ्ग्याउने गरेमा पशुधनमा कसैको आँखा नलाग्ने, देशान (रोगव्याधि) नलाग्ने मैथिल समुदायमा जनविश्वास रहेको छ। पर्वका दिन गाई, गोरुका सिङ, खुरमा तोरीको तेल लगाई दिने, दाम्ला फेर्ने परम्परासमेत रहेको छ। गोधन पर्वसँगै मिथिला क्षेत्रको उच्च आस्थाको महापर्व छठ पर्वको तयारीसमेत शुरू हुन्छ।

प्राचीन कालमा व्रजवासी वर्षाका स्वामी इन्द्रलाई प्रसन्न राख्नका लागि यो पर्व मनाउने गर्थे। व्रजवासीले सोही दिन भगवान इन्द्रको पूजा गरी षड्रसपूर्ण छप्पन भोग, छत्तिस व्यञ्जन भोग लगाउने गर्दथे। सोही दिन द्वापर युगमा भगवान श्री कृष्णले इन्द्रको बन्द गराएर गोवर्धन पर्वतको पूजा आरम्भ गराएका थिए। यो देखेर भगवान इन्द्र कुपित भएर मुसलधार वर्षा गराए जसबाट पूरै व्रज डुब्न लाग्यो। त्यसपछि भगवान् कृष्णले गोप र गोपीहरूलाई बचाउनका लागि आफ्नो हातको कान्छी औलामा गोवर्धन पर्वतलाई उठाएर इन्द्रको मानमर्दन गरेका थिए। सोही दिनबाट व्रजवासीलाई सुरक्षा प्रदान गर्ने पर्वत गोवर्द्धनलाई पूजा अर्चना आरम्भ गराएर अन्नकुट पूजाको समेत आरम्भ गराए। गोवर्द्धन पूजा नै कालान्तरमा गएर मिथिला क्षेत्रमा गोधन पर्व बन्न गएको जनविश्वास रहेको छ।