बाँकेको नेपालगन्जमा बुधबार मुस्लिम समुदायका अगुवाले आफूले मानेका दिदीबहिनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका छन्।
बाँके– बाँकेको नेपालगन्जमा तिहारको दिन मुस्लिम समुदायका अगुवाले आफूले मानेका दिदीबहिनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका छन्। बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले बुधबार हिन्दू धर्मलाई अनुसरण गर्ने दिदीबहिनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका हुन्।
धार्मिक सद्भावलाई कायम राख्न र दिदीभाइको सम्बन्ध सुमधुर बनाउन आफूले तिहारको भाइटीका लगाएको प्रवेजले बताए। उनले दिदी माया थापा र बहिनी मीना तुलाधरको हातबाट झन्डै दुई दशकदेखि भाइटीका लगाउँदै आएको बताए।
“म आफू ३५ वर्षको हुँदादेखि नै दिदीबहिनीको हातबाट भाइटीका लगाउँदै आइरहेको छु। अहिले म ५४ वर्षको भएँ। यो सम्बन्ध केवल सामाजिक सद्भावको मात्र नभई दिदीभाइ र दाजुबहिनीबीचको प्रेमको सम्बन्ध पनि हो” उनले भने।
भाइटीका लगाउन दिदी माया र बहिनी मीना नेपालगन्जस्थित बौद्धगुम्बा टोलमा रहेको आफ्नो घरमा आएको उनले बताए। सामाजिक अभियानकर्मी सिद्धिकी पर्वका बेला एकअर्कासँग मिलेर खुशी साट्ने गरेको बताउँछन्।
“हिन्दूले मुस्लिमको चाडलाई मनाउँछन् र मुस्लिमले पनि हिन्दूको चाडपर्वलाई हर्षोल्लासका साथ हामी यसैगरी मनाउँदै आइरहेका छौँ,” उनले भने, “दुवै समुदाय एकअर्काको पर्वमा सहभागी हुने र मनाउने यहाँको परम्परा बनिसकेको छ।” सिद्धिकी वर्षौंदेखि हिन्दू समुदायले मनाउने सबै प्रकारका चाडपर्वलाई मानेर रमाउँदै आइरहेका छन्।
त्यसैगरी बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले पनि आफूले मानेको बहिनीको हातबाट भाइटीका लगाएर तिहार हर्षोल्लासका साथ मनाएका छन्।
उनले बहिनीको हातबाट भाइटीका लगाएको तस्वीर आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा ‘ह्याप्पी तिहार’ भनेर पोस्ट गरेका छन्। उनले दशैँ, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैँ यसरी नै मिलेर मनाउने गरेको बताए।
“हामी सद्भावको शहरमा छौँ। यो शहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको शहर हो। यहाँ मुस्लिमले हिन्दूको मात्र नभई हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ,” उनले भने, “मेरो अन्य समुदायको धर्म र आस्थाप्रति मनदेखि नै सम्मान छ।”
उनले अगाडि थप्छन्, “टीका थाप्दा मैले मान्ने हिन्दू समुदायका मान्यजनलाई खुशी मिल्छ र उहाँहरू खुशी हुँदा मलाई पनि खुशी मिल्छ, भने त्यो खुशीमा हामी अवश्य सहभागी हुन्छौँ र हुनैपर्छ।”
मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डेमा हिन्दू समुदायका मान्यजनलाई बोलाएर उनीहरूसँग रमाउने गरेको बताए। बाँकेमा हिन्दू र मुस्लिम समुदायले वर्षौंदेखि एकआपसमा मिलेर दुवै समुदायका चाडपर्व मनाउँदै आएको उनको भनाइ छ।
तिहारको अवसरमा भाइटीकाको दिन मुस्लिम धर्मगुरू मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई शुभकामना दिएका छन्। दुवै समुदायका धर्म गुरूले एकता र सद्भावका लागि संयुक्त रूपमा सबै एकआपसमा मिलेर बस्न आग्रहसमेत गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
