नयाँपुस्तालाई पुरानो परम्परा, रीतिरिवाजबारे अवगत गराउँदै अर्काको देखासिकी नभई मौलिक रूपमा नै चाडपर्व, संस्कार, संस्कृति मनाउन समाजले देउसीभैलोमार्फत अनुरोध गरेको छ।
रामपुर– देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ। शहर बजारमा मात्र नभई गाउँघरमा पनि आधुनिकताका नाममा विकृति बढ्दै गएको छ।
तिहारमा देउसीभैलोमा मौलिकपन हराउन थालेपछि सिर्जनशील दलित मुक्ति समाज रामपुर नगरपालिका–३ रजघरा पाल्पा भने परम्परागत संस्कृति संरक्षणमा लागेको छ। समाजले गाउँ–गाउँमा देउसीभैलोमार्फत मौलिकता जोगाउन सन्देश दिएको छ।
ढोलक, बाजा, झुर्मा, ट्याम्को, नरसिंहा, विकुल, सहनाइलगायत वाद्यवादनसहित सामूहिक देउसीभैलो अभियानमा लागेको समाजका अध्यक्ष देवबहादुर विकले बताए। “अहिले देउसीभैलोको मौलिकपन नै भेटिँदैन, संस्कृतिमा पूरै विकृति भित्रिएको छ, पुराना संस्कार, संस्कृति मौलिक रूपमा मनाइनुपर्छ,” उनले भने, “यस अभियानमा हामी सामूहिक रूपमा जुटेका छौँ।”
समाजले गत वर्ष एक लाख ६० हजारको विभिन्न वाद्यवादनका सामग्री खरिद गरेको अध्यक्ष विकले बताए। नयाँ पुस्तामाझ देउसीभैलोको मौलिक परम्परा नै मेटिसकेको र आधुनिकताले समाजमा विकृति ल्याएको बताउँछन्, समाजका ज्येष्ठ सदस्य मोहनबहादुर विक। पहिलेको देउसीभैलोको तुलनामा हिजोआज धेरै फरक रहेको उनले सुनाए। आधुनिकताले परम्परागत संस्कृतिमा विकृति भित्रिएकामा उनी चिन्तित छन्।
बालबालिका, युवा, उमेर ढल्कँदो अवस्थाका व्यक्ति बाजा बजाउँदै देउसीभैलोमा गाउँ–गाउँमा पुग्दा मौलिकता जोगाउन गरेको यस कार्यमा घरभेटीले खुशी हुँदै दानदक्षिणा दिने गरेको युवा मनु विक बताउँछन्। देउसीभैलोबाट संकलित रकम सामाजिक कार्यमा लगाउने उनले बताए। नयाँपुस्तालाई पुरानो परम्परा, रीतिरिवाजबारे अवगत गराउँदै अर्काको देखासिकी नभई मौलिक रूपमा नै चाडपर्व, संस्कार, संस्कृति मनाउन समाजले देउसीभैलोमार्फत अनुरोध गरेको छ।
मौलिक बाजाको तालमा देउसीभैलो समूह घर–घरमा आउँदा स्थानीय पनि दंग छन्। मेमोरीकार्ड, क्यासेट गीत, युट्युबबाट हिन्दी, रिमिक्स, पप, आधुनिक, लोकगीतमा देउसीभैलो खेल्नेको जमात बढ्दो छ। मौलिकता जोगाउन नभई मनोरञ्जनका लागि मात्रै देउसीभैलो खेल्ने गर्दा परम्परागत संस्कार, संस्कृति लोप हुँदै जान थालेको छ।
देउसीभैलोबाट चाडपर्व मनाउने नाममा विकृति विसंगति भित्रिन नदिन दलित मुक्ति समाजले गरेको यस कार्यलाई सबैले सकारात्मक रूपमा लिएका छन्। समाजमा ८० घरपरिवार दलित समुदाय मात्र आबद्ध छन्। आफ्नो समाजभित्र हुने विभिन्न सामाजिक कार्य, अप्ठ्यारोमा परेका परिवारलाई सहयोग गर्दै आइरहेको समाजले जनाएको छ।
हिजोआज खैँजडी, मादल, मजुरा, गितार, बाँसुरीका तालमा भट्याउँदै देउसीभैलो खेल्ने परम्परा हिजोआज कतै देखिँदैन। कोहीले भट्याउने कोहीले गाउने, स्थानीयस्तरमा प्रचलित विभिन्न वाद्यवादनका तालमा नाच्दा तिहारको रौनकता नै बेग्लै हुन्थ्यो। पश्चिमा संस्कृतिको देखासिकी र प्रभावले पुराना परम्परा हराउँदै गएको छ भने देउसीभैलोमा मौलिकपन नहुँदा खल्लो लाग्न थालेको पाकापुस्ताको बुझाइ छ।
बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ। तर, पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन्। उज्यालै उज्यालैको पर्वका रूपमा लिइने तिहार दाजुभाइ र दिदीबहिनीबीचको मायाप्रेम प्रगाढ बनाउने पर्व हो।
चाडपर्वमा पहिलेजसो मौलिकपनको सट्टा नयाँपन दिन खोज्दा पुरानो इतिहास नै मेटिन पुगेको बुढापाका बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
