जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालले कस्ता अजेन्डा उठाउँदै छ?

वन तथा वातावरण मन्त्रालयका सहसचिव बुद्धि पौडेलले औपचारिक कार्यक्रमबाहेकका एक्लाएक्लै भेटवार्ता गरी जलवायु परिवर्तनका असरबारे नेपालका समस्या बुलन्द गर्ने उद्देश्य राखेको बताए।

काठमाडौँ– सरकारले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई अवसरका रूपमा प्रयोग गर्ने बताएको छ। संयुक्त अरब इमरेट्स (यूएई)को दुबईमा मंसिर १४ देखि २६ गतेसम्म हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) मा नेपालले जलवायु परिवर्तनबाट परेको प्रभावबारे आफ्ना अजेन्डा गहन रूपमा प्रस्तुत गर्ने बताएको हो।

वन तथा वातावरण मन्त्रालयका सहसचिव बुद्धि पौडेलले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा जलवायु परिवर्तनका कारण परेका असर र प्रभावबारे ‘रोडम्याप’ बनाएर प्रस्तुत हुने बताए। उनले सरकारले कुन–कुन विषयलाई प्राथमिकतामा राख्ने भनेर विज्ञहरूसँग छलफल गरेको र सम्मेलनमा सबैले नेपालका तर्फबाट एउटै आवाज उठाउने सुनाए। 

राम्रो अजेन्डा र राम्रो टिम भए नेपालले आफूलाई परेका प्रभाव र असरबारे विश्वमञ्चमा आफ्नो आवाज उठाउन सक्ने उनको भनाइ छ। “हाम्रा महत्त्वपूर्ण कुराहरू पहिचान गरेर हाम्रा मुख्य अजेन्डा तयार पारेका छौँ। एउटा पोजिसन पेपर लिएर जाने र सबैले जहाँ गए पनि एउटै आवाज भन्नेछौँ। टिम राम्रो र इफेक्टिभ टिम गए राम्रो हुनेछ। त्योअनुसार जानेछौँ। अजेन्डा यहाँबाट माझेर जानेछौँ। छलफल गरेर जानेछौँ,” न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने।

उनले औपचारिक कार्यक्रमबाहेकका कार्यक्रममा एक्लाएक्लै भेटवार्ता गरी जलवायु परिवर्तनका असरबारे नेपालका समस्या बुलन्द गर्ने उद्देश्य राखेको बताए। उनका अनुसार हिमालका समस्याबारे पनि जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा आवाज उठाइने छ। हिमालको विषय एक देशको विषय नभएकोले हिमाल भएका देशहरू मिलेर आवाज उठाउन सकिने उनको भनाइ छ। 

“हिमालबारे हामी गम्भीर छौँ। माउन्टेन इस्युलाई अघि बढाउन पनि हाम्रो प्रयास हुन्छ। हिमाललाई छुट्टै अजेन्डा बनेर पनि जान सक्छ वा अर्कोमा घुसाएर पनि जान सक्छ। अरू देशसँग वार्ता गर्नेछौँ। माउन्टेनको अजेन्डामा एक्लै बोलेर पनि हुँदैन, अरू देशसँग सरसल्लाह गरेर अघि बढाउनुपर्छ,” उनले भने। हिमाललाई छुट्टै अजेन्डा बनाएर जान अन्य देशहरूसँग छलफल जारी रहेको उनले बताए।