काठमाडौँका २१ स्थानमा बनाइँदै छठ पूजास्थल

छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौँका कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरी लगायतका स्थानमा पूजास्थल बनाइँदै छ।

काठमाडौँ– काठमाडौँको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरूमा छठी माईको पूजाका लागि स्थल निर्माणको तयारी भइरहेको छ। काठमाडौँको विभिन्न २१ स्थानमा छठ पूजास्थल निर्माणको काम भइरहेको हो। 

छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौँका कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरी लगायतका स्थानहरूमा पूजास्थल बनाइँदै छ। तोकिएका पूजास्थलमा सरसफाइ गर्ने, बिजली बत्ती जोड्ने, टेन्ट हाल्ने लगायतका कामहरू भइरहेका हो।

कमल पोखरी छठ कमिटीका अध्यक्ष राजेन्द्र सिंहले अहिले टेन्ट हाल्ने काम शुरू भएको र शनिबारसम्म सबै काम सकिने बताए। हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गर्ने गरेको र यस पटक पनि निःशुल्क नै व्यवस्थापन हुने उनको भनाइ छ।

“टेन्ट हाल्न शुरू भएको छ, शनिबारसम्म काम सकिन्छ। हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गरेका छौँ। यस पटक चन्दा बाक्सा पनि राख्दैनौँ। छठी माईको मूर्ति पोखरीमा नराख्ने भएका छौँ। सेलाउने मूर्ति बाहिर नै राख्नेछौँ। आरती र भजन कीर्तन गर्नेछौँ।”

गौरीघाट छठ समिति संयोजक किरणकुमार दासले छठको घाट ५०८ देखि ५१० वटा बनाउने तयारी भएको बताए। उनले अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको र बाँकी काम शनिबारसम्म सकिने बताए।

“छठको घाट ५०८ देखि ५१० वटा बनाउने निर्णय गरेका छौँ। अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको छ। २० प्रतिशत काम शनिबारसम्म सकिन्छ। कपडा टाँग्ने र प्लाइबोर्ड लगाउने काम बाँकी छ,” उनले भने।

आर्थिक मन्दीका कारण यस वर्ष छठमा आउनेहरूको संख्या कमी हुने आकलन गरेको उनले बताए। “आर्थिक मन्दीले अलि कमी हुने आकलन गरेका छौँ। तर रसिद काट्नेहरू हेर्दा भरिन्छ जस्तो छ,” उनले भने।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छट पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। छट पर्व शुक्रबारदेखि सुरू हुँदैछ। पहिलो दिन कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ।

दोस्रो दिन सक्खर हालेर बनाइएको खीर षष्ठी मातालाई चढाइ ब्रतालुले प्रसादस्वरूप ग्रहण गर्ने गर्छन्। यस दिन नुन नखाइ एक छाक फलाहार गरिन्छ। छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ। त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ।