डोम समुदायलाई बाँसका सामग्री बनाउन भ्याइनभ्याई

जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर वर्षभरिकै लागि खर्च जोहो गर्ने गरेको बताए।

सुनसरीको इनरुवास्थित बिहीबारे हटियामा छठ पर्वका लागि बाँसबाट बनेका पूजा सामग्री किनमेल गर्दै स्थानीय । तस्वीर : नवीन गड्तौला/रासस

महोत्तरी– छठ पर्व आउन चार दिन बाँकी रहँदा डोम समुदायमा उल्लास छाएको छ। अहिले उनीहरू डालो, नाङ्लो र टालु टपरी बनाउन व्यस्त छन्।

मनरासिस्वा नगरपालिकाका ५० वर्षीय बिजु डोमले भने, “जीवनका हरेक दुःख बिर्सेर मिठो मसिनो खाने र राम्रो लगाउने  पर्व छठ हो।” छठ पर्वमा विभिन्न परिकार पकाएर खाने गरेको सोही ठाउँ बस्ने ६० वर्षीया मालती डोमिनले बताइन्।  

गौशाला नगरपालिकाकी ५५ वर्षीया केवली डोमिनले भनिन्, “कात्तिक लाग्नेबित्तिकै बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौँ। यी वस्तु बजारमा बेच्दा मनग्य आम्दानी हुन्छ।” 

छठ पर्व मनाउनेले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच/सात वटा बाँसबाट बनेका सामग्री आवश्यक पर्ने जनाइएको छ। सम्सी गाउँपालिकाका ६० वर्षीय बुधो डोमले छठ पर्वका लागि बाँस सामग्रीका बनाउने गरेको बताए। 

जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालुटपरी बेचेर वर्षभरिकै लागि खर्च जोहो गर्ने गरेको बताए। त्यसैगरी जिल्लाको भङ्गहा नगरपालिकाका सिरिया डोमले घरका बालकदेखि बुढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति ४० देखि ५० हजार र प्रत्येक परिवारले दुई/तीन लाखको हाराहारीमा आम्दानी गर्ने गरेको बताए।  

अहिले जिल्लाको प्रत्येक पालिकाको गाउँ गाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैले बाँस र बेतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिन्छन्। छठ पर्व मनाउने व्यक्तिको संख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्‍याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याइनभ्याई भएको छ। तराई– मधेशमा बेतबाट बनेको सामग्री किन्नेको भिडभाड रहेको छ।