भूकम्प प्रभावितका लागि ईयूले २८ करोड ८० लाख सहयोग गर्ने

आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरूप २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको ईयूले जनाएको छ।

काठमाडौँ– युरोपेली संघ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ। इयूले मानवीय सहायतास्वरूप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो। 

आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरूप उक्त रकम प्रदान गर्ने निर्णय भएको काठमाडौँस्थित युरोपेली संघको प्रतिनिधिमण्डलले जनाएको छ। 

अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ। युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो।

अस्ट्रेलियाद्वारा भूकम्प प्रभावितलाई ५ करोड बराबरको सहयोग घोषणा
अस्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरूका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि ६ लाख अस्ट्रेलियाली डलर अर्थात् करिब पाँच करोड नौ लाख रुपैयाँ बराबरको मानवीय सहायता घोषणा गरेको छ।

काठमाडौँस्थित अस्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रममार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ। नेपालस्थित संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैंगिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ।

उक्त सहयोगमार्फत मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) संस्थाले भूकम्प प्रभावित स्वास्थ्य संस्थालगायत सार्वजनिक संरचनाको पुनर्निर्माणमा सहयोग गर्नेछ। 

नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्केले भनिन्, “पश्चिम नेपालमा भएको भूकम्प र त्यसपछि पराकम्पले निम्त्याएको मानवीय र सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। अस्ट्रेलिया र नेपालबीच लामो समयदेखिको मित्रता छ। हाम्रा दुई देशले २०७२ को भूकम्प, कोभिड–१९ महामारीलगायत विपत्तिमा एकअर्कालाई सहयोग गरेको इतिहास छ।”