छठपर्वको व्रत विधि शुरू, शुक्रबार ‘नहाय–खाय’

छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर सिँगारिएका छन्। सबैजसो घाटमा रातभर जाग्राम बस्न गीत, संगीत, नाटक र मनोरञ्जनका विभिन्न साधनको व्यवस्था गरिन्छ।

छठपर्वका लागि बाँसबाट बनेका पूजा सामग्री किनमेल गर्दै स्थानीय। तस्वीर:रासस 

महोत्तरी– तराईमा अहिले छठपर्वको रौनक छ। सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन्। पर्वको प्रारम्भ बर्तालुले शुक्रबार ‘नहाय–खाय’ विधिबाट गर्दैछन्। 

कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि बिहीबार नै गरेका हुन्। निरामिष (सात्त्विक) भोजन शुरू गरेर तृतीयाकै दिन व्रतको तयारी थाल्ने परम्परा छ।

जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जिदैछन्। छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर सिँगारिएका छन्। पर्वमा महिला/पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत गर्ने गरेको पाइन्छ। 

कात्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत संकल्प गरेर चोखोनीतो खानेछन्। यो विधिलाई ‘नहाय–खाय’ भनिन्छ। यस पर्वले घर–घरमा व्यस्तता बढाएको छ। पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै खटिएका छन्।

श्रद्धा, निष्ठा र आत्मिक शुद्धीलाई अत्यन्त महत्त्व दिइने छठमा पूजा प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ। यी परिकार पकाउन चुल्हो पनि नयाँ प्रयोग गरिन्छ। 

पर्वमा सूर्यलाई अर्घ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन्।

बिहीबार कात्तिक शुक्ल तृतीयाका दिन ‘अरबा–अरबाइन’ र चौथीमा ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले शनिबार निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन्। यो विधिलाई ‘खरना’ भनिन्छ।

बर्तालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई अर्घ्य दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाइन्छ। यो व्रत आइतबार सम्पन्न गरिनेछ। यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ। यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अर्घ्य दिएर देखाइएपछि छठ सम्पन्न हुने परम्परा छ। यसपालि छठको समापन सोमबार बिहान सूर्योदयसँगै गरिने छ।

मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडीअघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन्। सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, संगीत, नाटक र मनोरञ्जनका विभिन्न साधनको व्यवस्था गरिन्छ। पछिल्लो समय छठ सबै नेपालीको साझा पर्व बन्दै गएको छ।