विद्युत् आयोजनाको लापरबाही: भुइँमा लत्रिएको तारबाट करेन्ट लागेर १ जनाको मृत्यु

निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको हो।

ढोरपाटन– बागलुङमा भुइँमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। 

निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको शुक्रबार बिहान मृत्यु भएको हो।

गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार छुँदा विकलाई करेन्ट लागेको डीएसपी मदन केसीले जानकारी दिए। उनको घटनास्थलमै मृत्यु भएको हो।

स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

विद्युत् आयोजनाको लापरबाहीका कारण नेपालीको मृत्यु भएको स्थानीयको आरोप रहेको डीएसपी केसीले बताए।