छठको रौनक: पूजाको सामग्री बनाउन व्यस्त छन् डोम समुदाय

छठलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजा सामग्री बनाउँदै बेच्ने गर्छन्। उनीहरू यस पुर्ख्यौली पेसाबाट राम्रो आम्दानी भइरहेको बताउँछन्।

धनुषा– डोम समुदायलाई सधैँ खान, लाउन धौधौ हुन्छ। अहिले भने यो जातिको मुहारमा हाँसो र मनमा उल्लास छाएको छ। गरिबी र विपन्नताको जाँतोमा पिल्सिएर वर्षभर गाउँ–गाउँ सुँगुर डोर्‍याएर चहार्ने डोम समुदायलाई अहिले छठपर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन भ्याई नभ्याइ भएको छ।

छठलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजा सामग्री बनाउँदै बेच्ने गर्छन्। उनीहरू पुर्ख्यौली पेसाबाट राम्रो आम्दानी भइरहेको बताउँछन्। बाँसबाट बनाइने नाङ्लो (सुप्पा), ढकिया र कोनियाँ छठपर्वमा अनिवार्य प्रयोग गर्ने भएकाले दुई महिनाअघिदेखि बनाएर भण्डारण गरेका सामग्री बेचेर नपुग्ने भएपछि बनाउँदै बेच्दै फुर्सद नरहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ नयाँ टोलका हरिमलिक डोमले बताए। 

उनले भने, “वर्षभरि अन्य महिनामा कम भए पनि छठमा नाङ्लोको व्यापार गरेर वर्षभरलाई गुजारा गर्न पुग्छ। त्यसैले छठपर्व हाम्रा लागि निकै महत्त्पूर्ण छ।” प्रतिनाङ्लो बाँसको चोयाअनुसार ७००, ६००, ५०० र ४०० रुपैयाँमा बिक्री भइरहेको उनले सुनाए। डोम समुदायले प्रत्येक छठ व्रतीलाई बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्न सफल भएको क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवाबजार नयाँ टोलका डोम झल्कु मल्लिकले बताए।

मिथिला नगरपालिका–२ की सुकमरिया र फूलोदेवी मलिक भन्छिन्, “हामी बाँसको कोनियाँ बनाएर प्रतिकोनियाँ ५० का दरले बिक्री गरिरहेका छौँ। छठपर्वमा बिक्री गर्ने कोनियाँको कमाइले केही महिना गुजारा गर्न राहत मिल्छ।” छठपर्व मनाउने प्रत्येक तराइवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ्य दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच–सातवटा बाँसका भाँडाकुँडा किन्नुपर्छ। भंगाहा नगरपालिकाका सुखारी डोमले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति १० देखि २० हजार र प्रत्येक परिवारले सरदर दुई लाखसम्म आम्दानी गर्ने गरेको बताए। अहिले जिल्लाको गाउँ–गाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैजना बाँस र बेतका सामग्री बनाउन व्यस्त छन्।

छठपर्व मनाउनेको संख्यामा वृद्धि हुँदै जाँदा बाँसको भाँडाकुँडा पुर्‍याउन सकस भएको छ। डोम बस्तीमा अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका सामान बुन्ने काममा परिवारका सबै सदस्य व्यस्त छन्।

मिथिला नगरपालिका–७ हरिहरपुरका रामविनय मलिकका अनुसार दुई महिना अगाडिदेखि बुनेका ढकिया सखुवा बजार, ढल्केवर र बटेश्वर बजार पुर्‍याएर एकजना डोम परिवारले यस समयमा एक लाखभन्दा बढीको व्यापार गर्न भ्याउँछन्। 

छठ सकेपछि खासै काम हुँदैन। यही बेलाको कमाइले वर्षभर गुजारा र बालबालिकालाई पढाउने गर्छन्। क्षीरेश्वरनाथ नगरपालिकाको डोम समुदायले बाँसजन्य पुख्यौली पेसाबाट र कुम्हार समुदायले माटोको वर्तन मूर्ति बनाएर आर्थिक उपार्जन गर्ने गरेको छ।