अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ, सबै दल एकजुट होऔँ: प्रधानमन्त्री

परिवर्तनको रक्षा र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्री दाहालले गठबन्धनमाथि खतरा नरहेको दाबी गरेका छन्।

दमौली– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका छन्। 

शुक्रबार माओवादी केन्द्र तनहुँले आयोजना गरेको कार्यक्रममा उनले विभिन्न रूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिए। 

“संविधानविरुद्ध षड्यन्त्र भइरहेको छ। एकथरी तत्त्व कुनै न कुनै रूपले देशमा अराजकता सिर्जना गर्ने अभियानमा लागिरहेका छन्। प्रतिगमनका निम्ति मलजल गरिरहेका छन्,” उनले भने।

परिवर्तनको रक्षा र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्री दाहालले गठबन्धनमाथि खतरा नरहेको दाबी गरे। 

भने, “नेपालमा उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायले पाएका हक अधिकार खोस्ने र जनताका प्रतिनिधिको हातमा आएको सत्ता खोस्ने षड्यन्त्रलाई चिर्दै अगाडि बढ्छौँ।” 

सामन्तको हातमा सत्ता लैजाने दुस्साहस गरिएको उनको भनाइ थियो।