सजाइँदै राजधानीका छठ घाट, गौरीघाट–गुह्येश्वरी क्षेत्र झिलिमिली

काठमाडौँमा गुह्येश्वरीबाट गौरीघाटसम्मको बागमती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, नख्खु, विष्णुमती र बागमती नदी किनारमा छठ घाट निर्माण गरी सजाउन थालिएको छ।

काठमाडौँ– पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरबाट–गौरीघाट चोकसम्म झिलीमिली बत्तीले उज्यालो बनाइएको छ। तिहारको उज्यालो मात्रै हुने गरेकोमा यस वर्षदेखि छठलक्षित दीपावली पनि यस क्षेत्रमा थपिएको छ।

बागमती नदी किनारका दायाँबायाँ फूल मालालगायत सामग्रीले आकर्षक रूपमा सजावट गर्ने गरी तयारी गरिएको छठ पूजा समिति, गुह्येश्वरीले जनाएको छ। छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाउने तयारी गरिएको हो। प्रत्येक वर्ष छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ। यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लाग्ने गर्छ।

काठमाडौँमा गुह्येश्वरीबाट गौरीघाटसम्मको बागमती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, नख्खु खोला, विष्णुमती र बागमती नदी किनारमा छठ घाट निर्माण गरी सजाउन थालिएको छ। यी स्थानमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गर्न लागिएको छ। जहाँ आइतबार बेलुकी अस्ताउँदो सूर्यसँगै छठी माताको पनि पूजा आराधना गरिन्छ।

गुह्येश्वरीमा यस वर्ष विगतभन्दा बढी छठ घाटको निर्माण गर्न लागिएको समितिका अध्यक्ष अनिल सिंहले बताए। विगतमा करिब ५०० छठ घाट निर्माण गरिएकामा यस वर्ष ५५० भन्दा बढी बनाउने तयारी गरिएको छ। एउटा छठ घाट एक हजार ५०० शुल्क लिएर भक्तजनलाई दिएको छठ पूजा समितिका सदस्य नवलकिशोर यादवले बताए।

यहाँ करिब ५५० बर्तालु, तिनका परिवार एवं अन्य दर्शन गर्ने र हेर्ने गरी करिब तीन लाख भक्तजन आउने अनुमान समितिले गरेको छ। २० वर्षअघिसम्म राजधानीमा हुने छठ पूजामा तराई क्षेत्रका सीमित मानिसको मात्र सहभागिता हुने गरेको थियो। अहिले तराई क्षेत्रबाट राजधानी आई बस्ने अधिकांश मानिसका साथै पहाडी समुदाय पनि छठ पर्व मनाउने गरेका छन्।

जनकपुरकी रञ्जु श्रेष्ठ विगत २५ वर्षअघिदेखि नै छठ मनाउने गरेको बताउँछिन्। जनकपुरबाट छठ मनाउन थालेकी उनले हाल गुह्येश्वरीमै सूर्यको पूजा आराधना गरी पर्व मनाउने गरेकी छन्। पहाडबाट जनकपुर झरे पनि आफूले अपनाई आएको संस्कारसँग मिल्ने भएकाले छठ मनाउन थालेको उनले सुनाइन्। 

नदीको बीचमा छठी माताको माटाको मूर्ति स्थापना गर्न लागिएको छ। माटाको मूर्तिमा आइतबार र सोमबार पूजा आराधना गरी सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै बागमती नदीमै सेलाइने समितिका सचिव राजकुमार पोदारले बताए।

छठ पूजास्थलमा उखुको लाँक्रा, केराको घरी र केराको बोट बोकेर हिँडेका भक्तजनको भीड लाग्ने गर्छ। छठ पूजा स्थल वरपर व्यापार व्यवसाय गर्नेको भीड पनि देखिन थालेपछि काठमाडौँ महानगरपालिकाले पसल नराख्न यस क्षेत्रमा गत वर्षदेखि नै माइकिङ गर्न थालेको छ।

कमलपोखरीमा तयारी तीव्र
कमलपोखरीमा पनि सजावट गरी छठ घाट निर्माणलाई तीव्रता दिइएको छ। कमलपोखरीमा १७५ जना बर्तालुले छठ पूजा गर्न घाट निर्माण गर्ने तयारी भएको छठ पूजा समितिका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिए। यहाँ छठ पूजा सम्पन्न गर्न सहयोग गर्नेलाई सम्मान गरिने भएको छ।

छठको दोस्रो दिन शनिबार खरना गरिँदै छ। यस दिन पनि बिहानै घर आँगनको सफाइ गरी व्रत गरी बेलुकी सखरमा पकाएको खीर खाने चलन छ। यस दिन ठेकुवा, भुसुवाजस्ता परिकार पनि बनाइन्छ। छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउ आदिको बढी प्रयोग गरिन्छ। 

चार दिने छठ पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिइन्छ। यसका लागि नीराहार व्रत बसेका बर्तालुले आइतबार रातभर छठ पूजा स्थलमा जाग्राम बसेर उदाउँदो सूर्यको प्रतीक्षा गर्ने गरेको सिरहाबाट पर्व मनाउन आएका रणेन्द्र यादवले बताए। सोमबार बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व समापन हुन्छ। 

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्यदान गरेमा मनले चिताएको पूरा हुने सूर्य पुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ। 

सूर्यका दुई श्रीमती छाया र संज्ञा कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिनमा अस्ताउँदो र उदाउँदो सूर्यसँगै आउने भएकाले छठी माताका रूपमा पूजा आराधना गर्ने परम्परा बसेको धार्मिक विश्वाससमेत छ। 

यस अवसरमा सूर्यलाई विधिपूर्वक पूजा, आराधना गरेर अर्घ्य दिएमा मनोकामना पूरा हुनाका साथै छालाजन्य रोग पनि निको हुने विश्वास गरिन्छ।