छठपूजाका लागि वीरगन्जको घडीअर्वा पोखरीमा छठघाट तयार

पर्साको वीरगन्ज महानगरपालिका– १० स्थित घडीअर्वा पोखरीमा छठपूजाका लागि छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ।

पर्सा– पर्साको वीरगन्ज महानगरपालिका– १० स्थित प्रसिद्ध घडीअर्वा पोखरीमा छठपूजाका लागि छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ। घडीअर्वा पोखरीमा छठघाटको व्यवस्थापन र सजावटको काम पूरा भएको छठपूजा व्यवस्थापन समितिका अध्यक्ष दिलीप साहले बताए।

उनले यसपालि छठघाटको सजावटलगायतका व्यवस्थापकीय कामहरू सम्पन्न हुँदासम्म करिब १५ लाख ४१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए। टेण्टपण्डालमा ७ लाख ५१ हजार, परिसर बाहिरको बत्ती सजावटमा १८ हजार, भिडियोग्राफीमा ३५ हजार, पुरस्कारमा ४ लाख २८, सरसफाइमा ६० हजार रुपैयाँ खर्च हुने समितिका सचिव लखनलाल कानुले जानकारी गराए।

सुरक्षा उपसमितिका संयोजक मुन्ना साहका अनुसार छठघाटमा व्रतालु, दर्शनार्थी र भक्तजनहरूको सुरक्षा सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी ११० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट क्लबका ५० जना स्वयंसेवक परिचालन गरिनेछ। यस्तै, छठघाट परिसरमा २० वटा सीसीटीभी क्यामेरा जडान गरिएको साहले जानकारी दिँदै सादा पोसाकमा पनि प्रहरी परिचालन गरिने बताए।

बीच सडकमै छठपूजाका लागि आवश्यक पर्ने सामग्रीको किनबेच गरिँदै। तस्वीर मनिस पौडेल/उकालो

गत वर्षको छठमा छठघाट सजावट र व्यवस्थापनमा १४ लाख ३५ हजार ३ सय खर्च भएको र आम्दानीबाट खर्च कटाएर ५ लाख १ हजार ४९५ रुपैयाँ बचत भएको समितिका कोषाध्यक्ष तिलक साह कानुले जानकारी गराए।

तराई/मधेशमा महत्त्वसाथ मनाइने छठपर्व शुक्रबार शुरू भएको हो। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ। छठपर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। पहिलो दिन कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ।

दोस्रो दिन सक्खर हालेर बनाइएको खीर षष्ठी मातालाई चढाइ ब्रतालुले प्रसादस्वरूप ग्रहण गर्ने गर्छन्। यस दिन नुन नखाइ एक छाक फलाहार गरिन्छ। छठपर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ। त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ।