तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ। पर्यटन विकासको समितिको तथ्यांकअनुसार बन्दीपुरमा २६ देशका पर्यटक आएकोमा सबैभन्दा बढी चिनियाँ छन्।
दमौली (तनहुँ)– चिसो मौसम शुरू भएसँगै तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ। बन्दीपुर, व्यास नगरपालिकाको मानुङकोट, तनहुँसुरलगायतका स्थानमा यतिबेला पर्यटकको चहलपहल बढेको हो।
बन्दीपुरमा अहिले स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको व्यवसायी किसान प्रधानले बताए। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षसमेत रहेका प्रधानले यो बन्दीपुरको पर्यटनका लागि उपयुक्त समय भएको बताए। प्रधानले भने, “यो पर्यटकको घुम्ने समय हो। बन्दीपुरमा विदेशी र स्वदेशी पर्यटकको आगमन बढ्दै छ।”
बन्दीपुरमा दशैँ शुरू भएदेखि नै पर्यटकको चहलपहल बढेको र उक्त संख्या यतिबेला अझ बढेको उनको भनाइ छ। बन्दीपुरमा विशेष गरी चिनियाँ पर्यटकको संख्या बढी भएको उनले जानकारी दिए।
प्रधानका अनुसार बन्दीपुरमा अहिले दैनिक दुई हजार पर्यटकको आगमन भइरहेको छ। “विगतका वर्षमा चिसो मौसममा पनि यही हाराहारीमा पर्यटक आउँथे,” उनले भने, “पर्यटकमा घुम्ने संस्कृतिको विकास भइरहेको छ।”
पर्यटन विकासको समितिको तथ्यांकअनुसार बन्दीपुरमा २६ देशका पर्यटक आएकोमा सबैभन्दा बढी चिनियाँ छन्। समितिका अनुसार जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अस्ट्रेलिया, बेलायत, आयरल्यान्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्यान्ड, ताइवान, स्विटजरल्यान्ड, मलेसिया, होल्यान्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाबाट पर्यटक आएका छन्।
बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ वटा पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेपछि पर्यटकलाई थप सहज भएको छ। गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार गन्तव्यबारे नेपाली, अंग्रेजी, चिनियाँ, जापानिज, कोरियन, फ्रेन्चलगायतका भाषामा सामग्री तयार पारिएको छ ।
विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र परम्परागत शैलीको घर देखेर मक्ख पर्ने गरेको व्यवसायी वसन्त पौडेलको भनाइ छ। सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। जहाँबाट मनोरम हिमशृङ्खला, पहाड र टाकुरा अवलोकन गर्न सकिन्छ। प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ।
तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा सूर्योदयसँगै देखिने कुहिरो हेर्ने पर्यटकको सङ्ख्या पनि बढेको छ। मानुङकोटमा दैनिक एक हजारभन्दा बढी आन्तरिक पर्यटक दृश्यावलोकनका लागि पुग्ने गरेका छन्। कोभिड सङ्क्रमणका बेला मानुङकोटमा एकै दिन १० हजारभन्दा बढीसम्म पर्यटक पुगेका थिए।
व्यास नगरपालिका-३ निवासी भीमकुमारी थापाले यहाँबाट देखिने दृश्यले सबैको मन लोभ्याउने बताइन्। गर्मी मौसममा कुहिरो नलाग्ने भएकाले चिसो मौसममा मानुङकोटमा पर्यटकको भीड लाग्ने गरेको व्यवसायी चूडामणि दाहालले बताए।
तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले मानुङकोट आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकास भइरहेको बताए। जाडो महिनामा मानुङकोटमा पर्यटकको राम्रो चहलपहल हुने व्यास-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए। उनले भने, “मानुङकोटको विशेषता भनेको जाडोयामको हो, जाडोयाममा कुहिराले ढपक्क ढोकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक आउँछन्।”
मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ। जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
