विश्व शौचालय दिवस: ३ अर्ब मानिस सुरक्षित शौचालयको सुविधाबाट वञ्चित

दिगो विकासको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय रहेको छ। तर, सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्‍याउने लक्ष्यमा प्रगति भने सुस्त छ।

काठमाडौँ– विश्व शौचालय दिवस विश्वसँगै आइतबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। संयुक्त राष्ट्र संघले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रूपमा मनाउने गरेको थियो।

मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन यो दिवस मनाउन शुरू गरिएको हो।

दिवसको यस वर्षको नारा ‘परिवर्तनको गति बढाउँदै’ रहेको छ। राष्ट्र संघले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याइरहेको छ। दिगो विकासको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय रहेको छ। तर, सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्‍याउने र सरसफाइ शतप्रतिशत हुने अवस्थामा पुर्‍याउने कार्यमा प्रगति भने सुस्त गतिमा भइरहेको छ। यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्र संघले यस वर्षको नारा परिवर्तनको गति बढाउँदै भन्ने राखेको हो।

राष्ट्र संघका अनुसार विश्वका साढे तीन अर्ब व्यक्ति अझै पनि सुरक्षित शौचालयको सुविधाबाट वञ्चित छन्। त्यसमध्ये ४१ करोड ९० लाख व्यक्ति अझै पनि खुलास्थानमा दिसा–पिसाब गर्छन्। खुला दिसा र पिसाबका कारण फैलने रोगले दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ। यसले प्रकृति, महिला, युवती र अन्य संकटापन्न समूहको स्वास्थ्यमा जोखिम बढाएको छ। सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब सात वर्ष मात्र बाँकी छ। यो लक्ष्य हासिल गर्न अहिले गरेको कामको गति पाँच गुना तीव्र बनाउनु पर्ने स्मार्ट वास सोलुसन्स नेपालका अध्यक्ष रामदीप साहले बताए। 

२०७६ असोज १९ गते खुला दिसामुक्त र पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा भएको हो। सरकारले सन् २०११ देखि हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न थालेको थियो। सबैभन्दा पहिले कास्की खुला दिसामुक्त घोषणा भएको थियो। नेपालमा पूर्ण सरसफाइको अवधारणालाई सन् २००० देखि राष्ट्रिय सरसफाइ सप्ताहको रूपमा कार्यान्वयनमा ल्याइएको थियो।

दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बनेर नेपालले शौचालय निर्माणमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भए पनि पूर्ण सरसफाइको लक्ष्य हासिल गर्ने विषयमा अझै धेरै काम गर्न बाँकी रहेको साहको भनाइ छ। खानेपानी तथा सरसफाइ हेर्ने राष्ट्र संघको निकाय ‘युएन वाटर’ले सार्वजनिक गरेको विवरणअनुसार नेपालको ५१ प्रतिशत जनसंख्याले मात्र सुरक्षित सरसफाइ सेवा उपयोग गर्ने गर्छन्। 

नेपालका ६४ प्रतिशत जनसंख्यामा साबुन पानीले हात धुने सुविधा प्राप्त छ। घरबाट निस्कने फोहर पानीको प्रशोधन तथा सही व्यवस्थापन ३९ प्रतिशत मात्र हुन सकेको अध्यक्ष साहको भनाइ छ। नेपालमा शहरीकरण तीव्र गतिमा बढेको तर, त्यही त्यही गतिमा शहरी पूर्वाधार खास गरेर ढल र नालीका पानी बग्ने संरचना व्यवस्थापन हुन बाँकी रहेको उनले जनकारी दिए।